लमजुङ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ खुदीस्थित साम्बाचोकमा सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियान सम्पन्न भएको छ। “सुरक्षित यात्रा, सभ्य समाजको आधार” भन्ने मूल नारासहित आयोजित कार्यक्रम गाउँपालिकाको आयोजना तथा खुदी युथ र खुदी प्रहरी चौकीको सहकार्यमा कार्यक्रम भएको हो।
उक्त कार्यक्रमको मुख्य उद्देश्य सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्नु रहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । कार्यक्रममा सवारी चालक, सहचालक तथा सर्वसाधारणलाई सडक सुरक्षासम्बन्धी जानकारी दिँदै सुरक्षित, संयमित र जिम्मेवार यात्रा अभ्यास गर्न विशेष आग्रह गरिएको थियो।

यसै अवसरमा गाउँपालिका अध्यक्ष गुरुङले जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्रीमार्फत ब्रेथलाइजर मेसिन हस्तान्तरण गरेका थिए। सो उपकरणले मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुना माया थापा, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक नेत्र बहादुर थापा, वडा अध्यक्षहरू, जनप्रतिनिधि, स्थानीय युवा क्लबका प्रतिनिधि, चालक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममार्फत “मादक पदार्थ सेवन गरी सवारी नचलाऔँ” र “सिट क्षमता भन्दा बढी यात्रु नहालौँ” जस्ता सन्देशहरू प्रवाह गरिएको थियो।











प्रतिक्रिया