चिकित्सक संघद्वारा आइतबार ओपीडी सञ्चालन अस्वीकार, सरकारको प्रस्तावप्रति असहमति


काठमाडौँ ।

नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न गरेको आग्रह अस्वीकार गरेको छ। संघले जनशक्ति अभाव र व्यवहारिक कठिनाइलाई कारण देखाउँदै तत्काल आइतबार ओपीडी सेवा दिन नसकिने स्पष्ट पारेको छ।

सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेपछि मन्त्रालयले कार्यबोझका आधारमा आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई अनुरोध गरेको थियो। तर चिकित्सक संघले उक्त अनुरोध व्यवहारिक नभएको बताउँदै आपत्ति जनाएको हो।

संघका अनुसार हालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नियमित १०–४ ड्युटीका साथै अनकल, राउण्ड र इमर्जेन्सी सेवामा २४ घण्टा खटिनु परिरहेको अवस्थामा अतिरिक्त सेवा थप गर्नु अन्यायपूर्ण हुनेछ।

त्यस्तै, बिदा फरक–फरक दिन दिँदा स्वास्थ्य सेवामा एकरूपता नहुने र बिरामीहरूमा अन्योल बढ्ने संघको भनाइ छ। इन्धन अभावका कारण दुई दिन बिदा दिने निर्णय गरिएको अवस्थामा ओपीडी समय विस्तार गर्नु अव्यवहारिक हुने पनि संघले उल्लेख गरेको छ।

संघले मन्त्रालयलाई आफ्नो अनुरोध फिर्ता लिन आग्रह गर्दै उचित निर्णय गर्न जोड दिएको छ। साथै न्यूनतम सेवा सुविधा बिना जबरजस्ती काम लगाइए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ।