राजस्व चुहावट मुद्दामा ४ करोड बढी जरिवाना र कैद सजाय, दुई फरार प्रतिवादी पक्राउ


काठमाडौं ।

राजस्व चुहावट सम्बन्धी मुद्दामा उच्च अदालत पाटन र सर्वोच्च अदालतबाट दोषी ठहर भएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जनालाई ४ करोड ४४ लाख ५७ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय तोकिएको छ भने अर्कालाई २५ हजार रुपैयाँ जरिवाना र २ वर्ष ६ महिना कैद सजाय सुनाइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, उच्च अदालत पाटनको २०८१ माघ १७ गतेको फैसलाले ललितपुर महानगरपालिका–४ बस्ने प्रवीण कुमार महतोलाई उक्त जरिवाना र कैद सजाय तोकेको थियो। उनलाई काठमाडौंको कुलेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ।

त्यसैगरी, सर्वोच्च अदालतको २०८१ माघ २ गतेको फैसलाअनुसार बागलुङ नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–२६ बस्दै आएका महेन्द्र के.सी. लाई २५ हजार रुपैयाँ जरिवाना र २ वर्ष ६ महिना कैद सजाय तोकिएको थियो। उनलाई पनि काठमाडौंको सामाखुसी क्षेत्रबाट पक्राउ गरी अदालतमा बुझाइएको सीआईबीले जनाएको छ।

राजस्व चुहावट तथा आर्थिक अपराध नियन्त्रणका लागि फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।