गोरखा ।
ऐतिहासिक महत्त्व बोकेको ‘गोरखा–जितगढी पदयात्रा’को चौथो संस्करण आजदेखि सुरु भएको छ।शुक्रबार गोरखाबाट सुरु भएको उक्त पदयात्रा ऐतिहासिक सम्पदा, संस्कृति र अभिलेखको संरक्षण तथा प्रवर्द्धन गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित आयोजना गरिएको हो।

पदयात्राको उद्घाटन पश्चिम पृतनापति उपरथी भोलानाथ थापा र गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकले संयुक्त रूपमा टर्च तथा झण्डा हस्तान्तरण गरी गरेका हुन्।

यस पदयात्रामा नेपालको राष्ट्रिय झण्डासहित नेपाली सेनाका सबैभन्दा पहिले खडा भएका पाँच कम्पनीहरू—श्रीनाथ, कालीबक्स, बर्दबानी, पुरानो गोरख र सबुज—का झण्डाहरू समावेश गरिएका छन्। साथै, जितगढी युद्धमा सहभागी गुरुवक्स गुल्मको झण्डासहित नेपाली सेनाको ऐतिहासिक पोसाक र परम्परागत बाजागाजासहितको टोलीको पनि सहभागिता रहेको छ।

करिब ३०५ किलोमिटर दूरी पार गर्ने यो पदयात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको ऐतिहासिक जितगढी किल्लासम्म पुग्नेछ। पदयात्रा २०८३ वैशाख ७ गते विजय उत्सव समारोहसँगै सम्पन्न हुने कार्यक्रम तय गरिएको छ।

उद्घाटन कार्यक्रममा गोरखा जिल्लाका माननीय जिल्ला न्यायाधीश, पालुङटार नगरपालिकाका प्रमुख, बुटवल उपमहानगरपालिकाका उपप्रमुख, श्री नं. ३ बाहिनीका बाहिनीपति, सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, सरकारी कार्यालयका पदाधिकारी, इतिहासविद्, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।











प्रतिक्रिया