अन्तरिक्षप्रतिको आकर्षण बढाउँदै ‘अन्तरिक्ष विज्ञान महोत्सव’ सम्पन्न


काठमाडौं
मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा यूरी गागरिनको ऐतिहासिक योगदानको स्मरणमा आयोजना गरिएको तीन दिने अन्तरिक्ष विज्ञान महोत्सव शुक्रबार विविध शैक्षिक, प्रेरणादायी तथा अन्तरक्रियात्मक कार्यक्रमहरूसहित सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल–रुस विज्ञान तथा प्रविधि समाज, मित्र कुञ्ज र द स्क्वाड अफ चेंजमेकर्सद्वारा संयुक्त रूपमा आयोजना गरिएको महोत्सवमा रुसी हाउस प्रमुख साझेदारका रूपमा रहेको थियो।


महोत्सवको पहिलो दिन “एयरोस्पेस तथा रकेट विज्ञानका आधारभूत सिद्धान्त” विषयमा कार्यशाला आयोजना गरिएको थियो। विशाल मिलन केन्द्रमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ४ को सहयोग रहेको थियो भने पाँच वटा विद्यालयबाट २५ जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रम मानव अन्तरिक्ष उडान अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा विशेष रूपमा आयोजना गरिएको हो। कार्यशालामा रकेट विज्ञानसम्बन्धी प्रारम्भिक सत्र, मोडेल रकेट निर्माण, ‘ओपनरकेट’ सफ्टवेयरमार्फत सिमुलेसन तालिम तथा व्यवहारिक रकेट प्रक्षेपणसमेत गरिएको थियो। सहभागीहरूले समूहगत रूपमा आफ्नै मोडेल रकेट डिजाइन, निर्माण र परीक्षण गर्दै व्यवहारिक अनुभव हासिल गरेका थिए।


महोत्सवको दोस्रो दिन मित्र कुञ्ज र रुसी सदनको सहकार्यमा विचार गोष्ठी आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सह–प्राध्यापक डा. नन्दविक्रम अधिकारीले “नेपालको अन्तरिक्ष कार्यक्रम तथा नीतिको समयरेखा र यसको विश्व अन्तरिक्ष कार्यक्रममा स्थान” विषयमा प्रस्तुति दिएका थिए। त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुल्चोक क्याम्पसका सहप्राध्यापक ले नेपालको अन्तरिक्ष क्षेत्रको विकास, नीतिगत पहल तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यबारे आफ्नो धारणा राखेका थिए। कार्यक्रममा रूसको अन्तरिक्ष इतिहाससम्बन्धी वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो।


अन्तिम दिन बिहान रत्नपार्कस्थित यूरी गागरिनको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो। उक्त कार्यक्रममा कार्यवाहक रुसी राजदूत रिन्चेन राक्साभ का साथै नेपाल–रुस विज्ञान तथा प्रविधि समाज, द स्क्वाड अफ चेंजमेकर्स, रुसी सदन तथा रुसी दूताबासका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। पुष्प अर्पण, विद्यार्थीहरूको मन्तव्य तथा अतिथिहरूको सम्बोधनमार्फत अन्तर्राष्ट्रिय कोस्मोनटिक्स दिवसको महत्व र अन्तरिक्ष अन्वेषणको प्रेरणाबारे प्रकाश पारिएको थियो।

त्यसपछि मुख्य कार्यक्रम रुसी सदनमा आयोजना गरिएको थियो, जहाँ करिब १०० जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा “ब्रह्माण्डको विशालता” तथा “अन्तरिक्ष यात्राको भविष्य” जस्ता विषयमा प्रस्तुति राखिएको थियो, जसले सहभागीहरूलाई अन्तरिक्ष विज्ञानको व्यापकता र सम्भावनाबारे जानकारी गराएको थियो।


कार्यक्रम अन्तर्गत अन्तरक्रियात्मक प्रश्नोत्तरी तथा खेलकुद सत्रले विद्यार्थीहरूलाई सक्रिय सहभागिताका लागि प्रेरित गरेको थियो। साथै, अघिल्लो दिन सम्पन्न एयरोस्पेस तथा रकेट्री कार्यशालाका उत्कृष्ट सहभागीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका पदनलाल श्रेष्ठ विज्ञान तथा प्रविधि शिक्षाको बढ्दो महत्वलाई जोड दिँदै युवा पुस्तालाई अनुसन्धान, नवप्रवर्तन तथा सिर्जनशील सोचतर्फ अग्रसर हुन प्रेरित गरेका थिए। साथै उनले अन्तरिक्ष विज्ञान क्षेत्रमा नेपालको सहभागिता विस्तार गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा पनि जोड दिए।


यसै अवसरमा “पृथ्वीभन्दा परको विरासतस् युरी गगारिनको ऐतिहासिक अन्तरिक्ष यात्राको ६५ वर्ष” शीर्षकमा प्रदर्शनीसमेत रुसी सदनमा सार्वजनिक अवलोकनका लागि प्रस्तुत गरिएको छ, जहाँ गगारिनको जीवन, उपलब्धि तथा अन्तरिक्ष अन्वेषणमा रूसको ऐतिहासिक योगदानबारे जानकारी प्रस्तुत गरिएको थियो।


महोत्सव समापनसँगै सम्मान तथा मायाको चिनो प्रदान गरिनुका साथै प्रदर्शनी अवलोकन र सहभागीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।