लन्डन, (एजेन्सी)
अघिल्लो दिन स्पेनी ला लिगाको एक महारथी रियल मेड्रिड च्याम्पियन्स लिगअन्तर्गत् क्वार्टरफाइनलको पहिलो लेगमा पराजित भएको थियो । रियललाई उसैको घरेलु मैदान बेर्नबेउमा जर्मन टोली बायर्न म्युनिखले २–१ ले स्तब्ध तुल्याएको थियो ।
बुधबार राति ला लिगाकै अर्को महारथी बार्सिलोनाले पनि हार बेहो¥यो । बार्सिलोनालाई भने ला लिगाकै टोली एटलेटिको मेड्रिडले २–० ले पराजित गरेको थियो । यो खेल बार्सिलोनाकै घरेलु मैदान क्याम्प नोउमा भएको थियो ।
पहिलो हाफको अन्त्यतिर बार्सिलोनाका पाउ कुबार्सीले रातो कार्डको सामना गरेर मैदान छोडेपछि नै एटलेटिकोले खेलमा पकड राखेको थियो । कुबार्सीले विपक्षीका जुलियानो सिमेओनेलाई पछाडिबाट ट्याकल गरेपछि रातो कार्डको भागीदार भएका थिए । त्यसपछि बार्सिलोनाले अन्त्यसम्मै १० खेलाडीले खेल्नु परेको थियो ।
यसै ट्याकलमा पाएको फ्रिकिकमा एटलेटिकोले गोल पनि ग¥यो । एटलेटिकोका लागि ४५ औं मिनेटमा प्राप्त फ्रि किकमा जुलियन आल्भारेजले गोल गरेका थिए । उनको प्रहार सीधै जालीभित्र पुगेको थियो ।
एट्लेटिकोले ७० औं मिनेटमा अग्रता दोब्बर पारेको थियो । सब्सीच्युट खेलाडी अलेक्जान्डर सोर्लोथले माटेओ रुगेरीको पासलाई गोलमा परिणत गरेका थिए । यो गोलपछि बार्सिलोना खेलमा २–० ले पछि परेको थियो ।
खेलमा बार्सिलोनाले केही राम्रो अवसर पनि पाएको थियो । मार्कस रासफोर्डले एक गोल गरेको पनि अफसाइड घोषित गरिएको थियो । उनको अर्को प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
दोस्रो हाफमा रोबर्ट लेवान्डोस्की र पेड्रीलाई मैदानमा उतारेपनि बार्सिलोनाले एटलेटिकोको रक्षापंक्तिलाई विफल पार्न सकेन । अब दोस्रो लेग अर्को साता एटलेटिकोको मैदानमा हुनेछ ।
पीएसजीको जित
अर्को क्वार्टरफाइनलको पहिलो लेगमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिभरपुललाई २–० ले हराएको छ । यो जितले पीएसजीको लागि सेमिफाइनल पुग्ने संभावना पनि बलियो भएको छ ।
पेरिसस्थित पार्क दे प्रिन्समा भएको खेलमा पीएसजीले इंग्लिस टोली लिभरपुलमाथि जित हासिल गर्न त्यति गाह«ो भएन । खेलको ११औं मिनेटमा डेजिरे डुएले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । बक्सबाहिरबाट उनले गरेको प्रहार लिभरपुलका खेलाडी रायन ग्राभेनबेर्खको खुट्टामा लागेर गोल भएको थियो ।
त्यसपछि मामार्डाश्भिलीले दुई खतरनाक एट्याक विफल तुल्याएर लिभरपुललाई थप गोल बेहोर्नबाट बचाए । ख्भिचा क्वारात्स्खेलियाको कर्लिङ प्रहार र काउन्टर एट्याकमा डुएको प्रहारलाई उनले बचाएका थिए । तर, क्वारात्स्खेलियाले ६५ औं मिनेटमा जाओ नेभेसको उत्कृष्ट पासमा गोल गर्दै पीएसजीलाई २–० को अग्रतामा राखे ।
अब दोस्रो लेग अर्को साता लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ । यस खेलमा लिभरपुलले ३–० को अन्तरमा जित हासिल गरे मात्रै सेमिफाइनल पुग्न सकिनेछ । यदि बराबरी वा पीएसजी जितेमा लिभरपुलको लागि क्वार्टरफाइनलबाटै बाहिरिनु पर्नेछ ।











प्रतिक्रिया