काठमाडौं।
कप्तान विनोद भण्डारीको शतकमा त्रिभुवन आर्मी क्लबले जारी पीएम कपअन्तर्गत् बिहीबारको खेलमा जित हासिल गरेको छ । विभागिय टोली आर्मीले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले हराएको हो । यो आर्मीको छैटो जित हो ।
यो नतिजापछि आर्मीले ७ खेलमा १३ अंक जोड्दै फाइनल पुग्ने संभावनालाई बलियोसमेत बनायो । हार बावजुद ८ खेलमा १० अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा यथावत रहेको छ । साथै फाइनल पुग्ने संभावना अझै जीवितै रहेको छ ।
जितको लागि १ सय ५१ रनको लक्ष्य आर्मीले २०.२ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा गरेको थियो । टोलीका लागि कप्तान विनोदले १ सय रनको योगदान दिए । उनले १२ चौका र ५ छक्का प्रहार गरेका थिए । पीएम कपको इतिहासमा यो विनोदको चौथो शतक हो । उनीपछि एपीएफका आशिफ शेखले ३ शतक प्रहार गरेका छन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । शुरुमै खराब प्रदर्शन गर्दा ६६ रनको स्थितिमा टोलीले ६ विकेट गुमाईसकेको थियो ।
तर, नारायण जोशीले अर्धशतक बनाउँदै टोलीलाई सम्मानजनक स्थितिमा पु¥याए । आठौं नम्बरमा ब्याटिङ गरेका उनले ६० बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए । ओपनरद्वय अभिषेक पालले २४ रन र खड्क बोहराले १३ रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीको बलिङमा बसिर अहमदले सर्वाधिक ५ विकेट लिएका थिए ।
पुलिस तेस्रो स्थानमा
कर्णाली प्रदेशलाई ४८ रनले हराउँदै नेपाल पुलिस क्लबले पनि पीएम कपको फाइनल पुग्ने संभावना जीवितै राखेको छ ।
जितको लागि २ सय ६२ रनको लक्ष्य पछाएको कर्णाली ४५.२ ओभरमा सबै विकेट गुमाएर २ सय १३ रनमा समेटिएको थियो । कर्णालीको लागि अर्जुन घर्तीले सर्वाधिक ४६ रन जोडे ।
पुलिसको बलिङमा ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गरे । उनले ९.२ ओभरमा २ मेडन (एकै ओभरमा रन नदिएको) फ्याल्दै ५ विकेट लिएका थिए । उनले यति विकेट लिन मात्र ३६ रन खर्चेका थिए । यस्तै करण केसीले ३ विकेट प्राप्त गरेका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको थियो । टोलीका लागि ओपनर दिनेश खरेलले ८२ रनको सानदार ब्याटिङ गरे । कर्णालीको बलिङमा प्रकाश जैसीले सर्वाधिक ३ विकेट लिएका थिए ।
पुलिस ९ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । पुलिस शीर्ष टोली आर्मीसँग ४ अंकले पछि छ भने दोस्रो स्थानको सुदूरपश्चिमसँग १ अंकले मात्रै पछि रहेको छ । कर्णालीको भने यो आठौं खेलमा छैटौं हार थियो ।
अहिलेसम्म ७ शतक
जारी पीएम कपमा ७ शतक प्रहार भइसकेको छ । शतक प्रहार गर्नेहरूमा आर्मीको तर्फबाट ३ खेलाडी विनोद भण्डारी, अर्जुन साउद र बसिर अहमद छन् । यस्तै अन्य शतक प्रहार गर्नेमा पुलिसका शंकर राना, एपीएफका आसिफ शेख, गण्डकीका अर्जुन कुमाल र लुम्बिनीका रञ्जीत खड्का हुन् ।











प्रतिक्रिया