जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव: दर्जन बढी स्रष्टा सम्मानित


काठमाडौँ।

नेपाली साहित्य र वाङ्मयको क्षेत्रमा क्रियाशील अग्रणी संस्था जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो ४२औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बनेपास्थित अरनिको पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा साहित्य, कला र समाजसेवाका विभिन्न विधामा योगदान पुर्‍याउने स्रष्टाहरूलाई नगदसहित सम्मान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्कृति शिरोमणि हरिराम जोशी प्रमुख अतिथिका रूपमा रहनुभएको थियो ।

समारोहमा विभिन्न विधाका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान र पुरस्कार अर्पण गरिएको थियो। हृदयचन्द्र-जनमत वरिष्ठ साधक सम्मान: प्रा.डा. चूडामणि बन्धु (पाल्पा) लाई नगद रु. १०,०००/- सहित खादा,प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

त्यसैगरी कमलराज-जनमत दर्शन साहित्य सम्मान: मोहनविक्रम सिंह (प्युठान) लाई पनि २५,०००/- राशी सहित सम्मान गरिएको थियो । त्यस्तै जनमत-सिद्धि धर्म/संस्कृति सम्मान: प्रा.डा. वीणा पौड्याल (ललितपुर) – राशी रु. १०,०००/-, विश्वशान्ति-जनमत प्रवासी लेखक सम्मान: डा. कविता लामा (दार्जिलिङ) – राशी २५,०००/-,जनमत-जनक प्रधान सेवा सम्मान: नन्दकृष्ण जोशी (बझाङ) – राशी १०,०००/-, जनमत-दीपक कायस्थ स्वास्थ्य सम्मान: प्रा.डा. सविना श्रेष्ठ (ललितपुर) – राशी १०,०००/-,जनमत-मित्र अनुवाद राष्ट्रिय सम्मान: डा. बलराम अधिकारी (गोरखा) – राशी १०,०००/-,जनमत-ज्ञानरत्न/मङ्गलतारा राष्ट्रिय सम्मान: जगदीश ओझा (बैतडी) – राशी १०,०००/, शान्तिकिरण-जनमत फरक क्षमता सम्मान: डा. गोविन्दप्रसाद आचार्य (अर्घाखाँची) – राशी २५,०००/- ले सम्मान गरिएको थियो ।

कृति सार्वजनिक समारोहमा प्रा. कपिल अज्ञातको गजलसङ्ग्रह ‘मनका तराना’ लोकार्पण गरिएको थियो, जसमाथि डा. कृष्ण सुवेदीले संक्षिप्त टिप्पणी राख्नुभएको थियो ।अतिथिहरूको उपस्थिति: कार्यक्रममा भारतको उत्तर बङ्गबन्धु विश्वविद्यालयका प्रा. सञ्जय राई, डा. अरुणा राई, प्रा.डा. प्रकाशराज रेग्मी, वरिष्ठ पत्रकार शेषराज शिवाकोटी लगायतका विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।साहित्यिक वाचन: सम्मानित प्रतिभाका तर्फबाट प्रा.डा. चूडामणि बन्धु, नन्दकृष्ण जोशी र लक्ष्मी मालीले मन्तव्य तथा रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन राजु सरकारले गर्नुभएको थियो भने स्वागत मन्तव्य र संस्थाको अभियानबारे जानकारी मोहन दुवालले गर्नुभएको थियो । सम्भमानीत प्रतिभाहरूको सम्मानपत्र प्रतिष्ठानका उपाध्यक्ष प्रेम श्रेष्ठ र सदस्य भगवती तिमल्सिनाले पढेर सुनाउनु भएको थियो । कार्यक्रमको समापनमा सचिव सिर्जना दुवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।