विद्युतीय दुर्घटना न्यूनीकरणका लागि विद्युत इन्सपेक्टरको माग, जनस्तरबाट पनि निगरानी बढाउन आग्रह



काठमाडौं

विद्युतीय दुर्घटनाबाट हुने मानवीय क्षति रोक्न विद्युत् इन्सपेक्टरको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) ले संयुक्त रुपमा विद्युतीय सुरक्षा दिवसको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा वक्ताहरूले विद्युत् सुरक्षालाई थप प्रभावकारी बनाउन नियमन र निगरानी दुवै सुदृढ गर्नुपर्ने बताएका हुन्।
कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक ई. सन्तबहादुर पुनले नेपाल विद्युत् प्राधिकरण, सडक विभाग वा अन्य सम्बन्धित निकायको असावधानीका कारण बेलाबेलामा ठूला दुर्घटना हुने गरेको उल्लेख गर्दै त्यस्ता घटनालाई रोक्न विद्युत् इन्सपेक्टरको व्यवस्था अनिवार्य रहेकोमा जोड दिए । उनले समयमै निरीक्षण र मापदण्डको कडाइका साथ कार्यान्वयन भएमा धेरै दुर्घटना रोक्न सकिने धारणा व्यक्त गरे।


नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक ई. हितेन्द्र देव शाक्यले विद्युत् सुरक्षामा नागरिकको सहभागिता पनि उत्तिकै महत्वपूर्ण हुने बताए। उनका अनुसार बाटोमा खसेका तार, ढलेका बिजुलीका खम्बा वा अन्य जोखिमयुक्त अवस्थाको फोटो खिचेर जीपीएस लोकेसनसहित प्राधिकरणको वेबसाइटमा अपलोड गरेमा प्राधिकरणले तत्काल समस्या समाधानका लागि पहल गर्नेछ।उनले विद्युत् प्रणालीलाई अझ सुरक्षित बनाउन प्राधिकरणले आवश्यक सुधारका कामहरू अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।


कार्यक्रममा सीनका अध्यक्ष ई. दिल्लीरत्न शाक्यले विद्युत् दुर्घटनाप्रति आम मानिसमा रहेको लापरवाही प्रवृत्तितर्फ ध्यानाकर्षण गराए। उनले भने “हामी प्रायः दुर्घटना अरूलाई मात्र हुन्छ भन्ने सोच राख्छौं, तर वास्तविकता के हो भने जहाँ लापरवाही हुन्छ, दुर्घटना त्यहीँ हुन्छ,”
उनले एउटा नाङ्गो तार, कमजोर जडान वा सानो बेवास्ताजस्ता कुराले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने बताउँदै विद्युत् सुरक्षालाई केवल प्राविधिक विषयका रूपमा नभई जीवन रक्षाको संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । “विद्युत् प्रयोग गर्नु हाम्रो आवश्यकता हो, तर सुरक्षित प्रयोग गर्नु हाम्रो जिम्मेवारी हो,” उनले भने “सुरक्षा कुनै विकल्प होइन, यो अनिवार्य आवश्यकता हो।”

ई. शाक्यले सुरक्षित मापदण्डको पालना, जनचेतना अभिवृद्धि र जिम्मेवार व्यवहारबाट मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिने उल्लेख गर्दै घर, कार्यालय वा समुदाय—जहाँ विद्युत् प्रयोग हुन्छ, त्यहाँ सुरक्षा संस्कार पनि सँगै विकास गर्नुपर्नेमा जोड दिए।
सोही कार्यक्रममा पूर्व जलस्रोत सचिव इन्जिनियर भुवनेश कुमार प्रधानलाई ‘सीन लाइफ टाइम एचिभमेन्ट अवार्ड ‘प्रदान गरिएको थियो।

कार्यक्रममा ई. बसन्त गौतम , ई. उपेन्द्र बडाल र ई। टेकनाथ तिवारीले विद्युतीय सुरक्षासम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।ई. बडालले नेपाल विद्युत् प्राधिकरणको मिटर जडानका लागि आवश्यक मापदण्डस् भवनको विद्युतीय सुरक्षाका लागि सीनको पहल र ई. तिवारीले विद्युतीय दुर्घटना न्यूनीकरणमा नेपाल विद्युत् प्राधिकरणको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।