काठमाडौँ।
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु भएको विषयमा प्रतिक्रिया दिएका छन्।
देउवाले सञ्चारमाध्यममार्फत उक्त विषयबारे जानकारी पाएको उल्लेख गर्दै आफ्नो सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचार भइरहेको दाबी गरेका छन्। उनले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गर्दै आएको स्पष्ट पारे।
उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताका पक्षमा जीवनभर संघर्ष गरेको उल्लेख गर्दै आफ्नो जीवन खुला पुस्तकजस्तै रहेको बताएका छन्। साथै, भ्रष्टाचार नियन्त्रणका लागि आफूले गृहमन्त्री हुँदा अख्तियार सम्बन्धी कानुन र प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन लागू गराएको पनि स्मरण गराएका छन्।
देउवाले हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र उपचार जारी रहेको जानकारी दिँदै समयक्रमसँगै वास्तविकता स्पष्ट हुने बताए। उनले अतिरञ्जित र भ्रामक सूचनाबाट भ्रममा नपर्न सबैमा अपिल गरेका छन्।











प्रतिक्रिया