सिद्धिचरण नगरपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने 

1.22k
Shares

ओखलढुङ्गा । 

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले लोकसेवा आयोगको परीक्षा दिन चाहानेहरुका लागि  निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले नगरपालिका भरिका कक्षा १० र १२ पास गरेका विद्यार्थीहरूलाई नायब सुब्बा र खरिदार पदको लागी लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न लागेको हो । 

लोकसेवा आयोगको तयारी कक्षामा सहभागी हुनका लागी पुरुषको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने छ । यसै गरी  महिलाको हकमा भने १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनु पर्ने नगरपालिकाले जनाएको छ ।

 नासु ९(पाँचौ तह ) को लागि  तयारी कक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूले १२ कक्षा पास गरेको हुनु पर्नेछ भने खरिदार पदका लागि  कक्षा १० पास गरेको हुनु पर्ने नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । 

तयारी कक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूले यही वैशाख ८ गते सम्ममा सिद्धिचरण नगरपालिकाको कार्यालयमा उपस्थित भएर वा ईमेल मार्फत फारम भर्न सकिने नगरपालिकाका प्रशासन शाखा प्रमुख सुष्मा आचार्यले बताउनु भएको छ ।

ईमेल मार्फत फारम भर्ने विद्यार्थीहरूले [email protected]  पठाउनु पर्ने प्रमुख आचार्यको भनाई रहेको छ । 

तयारी कक्षमा सहभागी हुनको लागी विद्यार्थीहरूले आवेदनको साथमा नेपाली नागरिकताको प्रतिलिपि र नासु ( पाँचौ तह ) को लागि  तयारी कक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूले १२ कक्षा पास गरेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि बुझाउनु पर्ने छ । 

यसैगरी  खरिदार पदको तयारी कक्षामा सहभागी हुने विद्यार्थीहरूले नागरिकताको प्रतिलिपिको साथमा कक्षा १० पास गरेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि पेस गर्नु पर्ने उहाँको भनाई रहेको छ ।