काठमाडौं ।
केपी शर्मा ओली १२ दिनदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत रहँदा पनि अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे औपचारिक जानकारी सार्वजनिक गर्न छाडेको छ । यद्यपि चिकित्सकहरूले अनौपचारिक रूपमा उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।
अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोसयारा का अनुसार ओलीलाई हाल एनेक्स–१ स्थित भिभिआईपी क्याविन नं ५०१ मा राखेर उपचार भइरहेको छ । उनले ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि रगतमा देखिएको संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक औषधीको कोर्ष अझै जारी रहेको जानकारी दिए । “सम्भवतः पर्सीसम्म औषधी चल्नेछ, कोर्ष पूरा नगरी डिस्चार्ज गर्न मिल्दैन, त्यसैले अस्पतालमै राखिएको हो,” रोसयाराले बताए । यसबीच ओलीले पित्तथैलीमा देखिएको पत्थरी हटाउन शल्यक्रिया गरिदिन चिकित्सकहरूलाई आग्रह गर्दै आएका छन् ।
उक्त विषयमा आज चिकित्सक टोलीले अन्तिम निर्णय गर्ने अस्पतालले जनाएको छ । शल्यक्रिया गर्ने वा नगर्ने भन्नेबारे विशेषज्ञहरूको टोलीबीच छलफल भइरहेको छ । ओलीलाई गत १४ चैत बिहान प्रहरीले नियन्त्रणमा लिएपछि स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल ल्याइएको थियो । प्रारम्भिक जाँचका क्रममा मुटुको धड्कनमा समस्या देखिएपछि उनलाई अस्पतालमै भर्ना गरिएको थियो ।
उपचारका लागि अस्पतालले विशेषज्ञ चिकित्सकहरूको विशेष टोली गठन गरेको छ । यसैबीच, ओलीपछि अर्को दिन अस्पताल भर्ना भएका पूर्वमन्त्री दीपक खड्का को स्वास्थ्य अवस्था पनि सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । प्रवक्ता रोसयाराका अनुसार खड्काको अन्य स्वास्थ्य सूचकहरू सामान्य भए पनि कमजोरीका कारण अझै अस्पतालमै राखिएको हो । उनी एनेक्स–२ को ६०८ नम्बर क्याविनमा उपचाररत छन् ।
खड्कालाई सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउपछि अस्वस्थ महसुस गरेपछि उनलाई पनि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । उल्लेखनीय छ कि २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानविनका लागि गठित गौरीबहादुर कार्की आयोगले पूर्वप्रधानमन्त्री ओलीलाई दोषी ठहर गर्दै अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो । सोही आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । हाल दुवै राजनीतिक व्यक्तित्व अस्पतालमै उपचाररत रहँदा उनीहरूको स्वास्थ्य अवस्थालाई लिएर सर्वसाधारण तथा राजनीतिक वृत्तमा चासो बढिरहेको छ । चिकित्सकहरूले भने दुवैको स्वास्थ्य अवस्था सुधार हुँदै गएको जनाएका छन् ।











प्रतिक्रिया