काठमाडौं ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नियुक्तिपछि उनले गभर्नर डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् र सोही दिन पदबहाली पनि गरेका छन्।
२०६२ माघ २ गते सहायक निर्देशकका रूपमा राष्ट्र बैंक प्रवेश गरेका पण्डितले करिब दुई दशकको अनुभव संकलन गरेका छन् । उनी २०६८ मा उप–निर्देशक, २०७४ मा निर्देशक र २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए। कार्यकारी निर्देशक भएको छोटो अवधिमै उनी डेपुटी गभर्नर पदमा पुगेका हुन्।
कार्यकारी निर्देशकका रूपमा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्व गर्नुका साथै बैंकको प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए। नियमन, बैंक सुपरीवेक्षण, मुद्रा व्यवस्थापन, मानव संशोधन, गभर्नरको कार्यालय लगायत विभिन्न महत्त्वपूर्ण विभागमा उनको अनुभव रहेको छ।
साथै धनगढी र वीरगञ्ज कार्यालयमा समेत काम गरिसकेका छन् । पण्डितले नियमन विभागमा रहँदा चालुपुँजी कर्जा मार्गदर्शन (वर्किङ क्यापिटल गाइडलाइन) निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेका थिए। वित्तीय समावेशीता तथा ग्राहक संरक्षण महाशाखाको नेतृत्व समेत सम्हालेका उनले नियामकीय तथा सुपरीवेक्षकीय क्षेत्रमा दख्खल राख्ने अधिकारीका रूपमा पहिचान बनाएका छन् । त्रिभुवन विश्वविद्यालय बाट व्यवस्थापनमा स्नातकोत्तर गरेका पण्डित गोल्ड मेडलिस्ट हुन्। उनी राष्ट्र बैंकभित्र सक्षम र अनुशासित कर्मचारीका रूपमा परिचित छन् ।











प्रतिक्रिया