एरिकाले कराते वान प्रिमियर लिग खेल्ने


काठमाडौं ।

करातेकी ऐतिहासिक पदक विजेता एरिका गुरुङले चीनको लेसनमा हुने डब्लुकेएफ कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छन् । त्यसका लागि एरिकासहित ३ सदस्यीय नेपाली टोली बुधबार चीन प्रस्थान गर्दै छ ।

यही अप्रिल १० देखि १२ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् । गत जनवरीमा टर्कीको इस्तानुबलमा भएको प्रिमियर लिगमा एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन् । प्रिमियर लिग वर्षमा ४ पटक हुने गर्दछ ।

राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठका अनुसार विश्व वरीयतामा एरिका हाल ११ औं स्थानमा छिन् । सन् २०२६ को उपलब्धीका आधारमा भने एरिका तुम धी युके एसोसिएनकी सद्भावना दूत एरिका चौथो वरीयतामा छिन् ।
तीन सदस्यीय टोलीमा कुशल प्रशिक्षकको जिम्मेवारीमा छन् । व्यवस्थापकमा रवि महर्जन छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल कराते महासंघका महासचिव दावा गुरुङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव मेहताले पदक जिते वापत खेलाडीले प्राप्त गर्न नसकेको नगद पुरस्कारका लागि पहल गरिरहेको बताए ।

‘विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिते वापतको खेलाडीले पाउन नसकेको नगद पुरस्कार लागि गम्भीर भएर सम्बन्धित निकायमा पहल गरिरहेको छु । माननीय खेलकुद मन्त्रीज्यूको स्वागत कार्यक्रममा पेश गरिएको तत्काल गर्नु पर्ने १८ कार्य मध्ये मैले खेलाडीको पुरस्कारलाई पहिलो नम्बरमा राखेको थिएँ ।’