इलाम गोल्डकपमा आठ टोलीले प्रतिस्पर्धा गर्ने

564
Shares

इलाम ।

आगामी बैशाख ५ गतेदेखि १२ गतेसम्म इलामको ठूलो टँुडिखेलमा हुने प्रतियोगितामा नेपाल, भारत र मलेसियाका गरी आठ टोलीले प्रतिस्पर्धा गर्ने भएको छ । रेडहर्ष फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालका ६ तथा भारत र मलेसियाका एक–एक टोली सहभागी हुने आयोजकले जनायो ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी, गोलरक्षक, उच्च गोलकर्तालगायत विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिनेछ । यस वर्ष विदेशी खेलाडीका लागि श्रम स्वीकृति अनिवार्य गरिएको आयोजक क्लबका सदस्य निरोज खड्गीले बताए ।

प्रतियोगितामा आयोजक रेडहर्ष एफसीसँगै काठमाडौंका मच्छिन्द्र फुटबल क्लब, न्यूरोड टिम (एनआरटी) र चित्लाङ एफसी, पाँचथरको फिदिम स्पोर्टिङ क्लब, रोलिङ क्लब झापा तथा विदेशी टोलीका रूपमा भारतको जर्जियन एफसी कालिम्पोङ्ग र मलेसियाको एन पेनाङ्ग एफसीले प्रतिस्प्र्धा गर्ने छन् ।

यसअघिका संस्करणहरूमा विभागीय टोलीहरू सहभागी हुँदै आएका भए पनि यसपटक भने तीनवटै विभागीय टोली प्रतियोगितामा सहभागि छैनन् । काठमाडौंका शीर्ष क्लबहरूलाई सहभागी गराउन आर्थिक चुनौती प्रमुख कारण रहेको आयोजकको भनाइ छ ।

यस संस्करणमा राष्ट्रिय टोलीका खेलाडी रोहित चन्द र एरोन थापाजस्ता चर्चित खेलाडीलाई इलामेली दर्शकले प्रत्यक्ष हेर्न पाउने आयोजकको अपेक्षा रहेको छ । पूर्व राष्ट्रिय खेलाडी डोना थापाको खेल पनि प्रतियोगिताको अर्को आकर्षण हुने बताइएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । आयोजकका अनुसार एक्स–स्ट्रिम, गोर्खा ब्रुअरी, एनआरएनए, इलामका स्थानीय तह, प्रदेश सरकार तथा विभिन्न दाताहरूबाट आर्थिक सहयोग जुटाइनेछ । गेट मनि पनि प्रतियोगिताको प्रमुख आयस्रोतका रूपमा रहने क्लबका उपाध्यक्ष प्रितम लिम्बूले जानकारी दिए ।

यस वर्ष गोल्डकप हरियो घाँसे मैदानमा सञ्चालन हुँदैछ । यसअघिका संस्करणहरू हार्ड मैदानमा हुँदा खेलाडीलाई चोटपटक लाग्ने जोखिम बढी हुने गरेको थियो । प्रतियोगिताका लागि करिब १० हजार दर्शक अट्ने बाँसको अस्थायी प्याराफिट निर्माण भइरहेको क्लबका अध्यक्ष सजित सिंह खत्रीले बताए । उदघाटन खेलमा रेडहर्ष एफसी र भारतको जर्जियन एफसी कालिम्पोङ्गबीच प्रतिस्पर्धा हुनेछ ।