काठमाडौँ
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र टाइम फर्मास्युटिकल्स लिमिटेडबीच शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्न सम्झौता सम्पन्न भएको छ ।
नवलपरासीको गैँडाकोट नगरपालिका–४ मा रहेको टाइम फर्मास्युटिकल्सले धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावलीअनुसार प्रति शेयर अंकित मूल्य १ सय रुपियाँ दरका ४ लाख ३४ हजार ६ सय कित्ता साधारण शेयर बुक बिल्डिङ विधिमार्फत योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । यस प्रक्रियामा बोलपत्र दर्ता, खोल्ने तथा निर्णय गर्ने कार्य नेप्सेले सहजीकरण गर्ने सहमति गरिएको छ । सम्झौतामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाई र कम्पनीका प्रबन्ध सञ्चालक सुदर्शन लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
कम्पनीले कुल १० लाख ८६ हजार ५ सय कित्ता साधारण शेयर (रु. १० करोड ८६ लाख ५० हजार बराबर) निष्काशन गर्ने तयारी गरेको छ, जसमा ४० प्रतिशत योग्य संस्थागत लगानीकर्ताका लागि र बाँकी ६० प्रतिशत सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ ।
शेयर जारीपछि कम्पनीको चुक्ता पूँजी ५३ करोड रुपैयाँ पुग्नेछ । करिब ३० वर्षदेखि सञ्चालनमा रहेको यस कम्पनीले गैँडाकोटमा केन्द्रीय कार्यालय र उत्पादन उद्योग तथा ललितपुरको सातदोबाटोमा विपणन कार्यालयमार्फत ३०० भन्दा बढी कर्मचारीलाई रोजगारी दिँदै २०० भन्दा बढी गुणस्तरीय औषधि उत्पादन गर्दै आएको छ ।











प्रतिक्रिया