घाम ऊर्जा सेवा लिमिटेडद्वारा आईपीओ निष्काशनका लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक नियुक्त


काठमाडौँ
घाम उर्जा सेवा लिमिटेडले आफ्नो प्राथमिक शेयर निष्काशनका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । यो साझेदारीले घाम ऊर्जा सेवाको नेपालभर नवीकरणीय ऊर्जा विस्तार गर्ने लक्ष्य प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

घाम उर्जा सेवाले व्यवसायिक तथा औद्योगिक ग्राहकलाई रूफ टप सौर्य ऊर्जा प्रविधि उपलब्ध गराउँदै आएको छ । १५ देखि २० वर्षको विद्युत खरिद सम्झौता मोडेलमा सञ्चालित यस कम्पनीले व्यवसायलाई कुनै पनि प्रारम्भिक लागत बिना उर्जामा आत्मनिर्भर बन्ने अवसर प्रदान गर्दछ । कार्बन उत्सर्जन घटाउन र सञ्चालन लागत कम गर्न मद्दत गर्दै घाम ऊर्जाले सामाजिक तथा आर्थिक प्रभाव र जलवायु परिवर्तन विरुद्ध सक्रिय भूमिका खेलिरहेको छ ।

प्राथमिक शेयर निष्काशन सम्झौता घाम ऊर्जा सेवाका अध्यक्ष अन्जल निरौला र एनएमबि क्यापिटलका प्रमुखकार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गर्नुभयो ।

दुवै पक्षले यस साझेदारी प्रति उत्साह व्यक्त गर्दै आईपीओलाई सफल बनाउन र सरोकारवालाका लागि उत्कृष्ट प्रतिफल सुनिश्चित गर्न आफ्नो प्रतिबद्धता जाहेर गरेका छन् ।