पोखरा ।
पोखराको सेदी क्षेत्रमा अवस्थित वाटरफ्रन्ट रिसोर्टले फेवा ताल संरक्षण र दिगो पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न आफू सदैव तयार रहेको जनाएको छ। रिसोर्टले जारी गरेको प्रेस वक्तव्यमा २०६८ सालदेखि गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्दै पर्यटन क्षेत्रको विकासमा निरन्तर योगदान दिँदै आएको उल्लेख गरिएको छ।
रिसोर्टले आफू कानूनी रूपमा दर्ता भई सम्बन्धित निकायको स्वीकृति तथा मापदण्डअनुसार सञ्चालन भइरहेको स्पष्ट पारेको छ। नगरपालिकाको २०६६ भदौ २४ गतेको पत्रअनुसार फेवा तालबाट ६५ मिटर दूरी कायम गरी भवन निर्माण गरिएको तथ्य सम्बन्धित निकायमा अभिलेखित रहेको पनि जनाएको छ।
सर्वोच्च अदालतद्वारा फेवा ताल संरक्षणका लागि जारी निर्देशनप्रति पूर्ण सम्मान व्यक्त गर्दै रिसोर्टले ताल संरक्षणलाई साझा जिम्मेवारीका रूपमा लिएको बताएको छ। आवश्यक परे स्पष्ट मापदण्ड, निष्पक्ष मापन र विधिसम्मत प्रक्रियाअनुसार अघि बढ्न तयार रहेको पनि उल्लेख गरिएको छ।
यस्तै, २०८२ चैत २१ गते बिहान बिना पूर्वसूचना गरिएको संरचना भत्काउने कार्यप्रति रिसोर्टले आपत्ति जनाएको छ। उक्त कार्यले होटलमा बसिरहेका पाहुना तथा कर्मचारीमा त्रास र असहजता सिर्जना भएको भन्दै यस्ता संवेदनशील विषयमा पूर्वसमन्वय, स्पष्ट सूचना र कानुनी प्रक्रिया आवश्यक हुनेमा जोड दिएको छ।
वातावरण संरक्षणमा आफ्नो प्रतिबद्धता जनाउँदै रिसोर्टले फेवा ताल संरक्षणका लागि अत्याधुनिक फोहोर पानी प्रशोधन (वेस्ट वाटर ट्रीटमेन्ट) प्रणाली स्थापना गरिएको जानकारी दिएको छ। यसले वातावरणीय दिगोपनप्रति संस्थाको प्रतिबद्धता झल्काउने विश्वास व्यक्त गरिएको छ।
रिसोर्टका अनुसार करिब १२० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै कर तथा पर्यटन प्रवर्द्धनमार्फत राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान दिइँदै आएको छ। साथै, स्थानीय समुदायसँग सहकार्य गर्दै पर्यटन विकासमा अघि बढिरहेको जनाएको छ।
लेकसाइड क्षेत्रमा रहेका अन्य संरचनाहरूको सन्दर्भमा समग्र र समान दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै रिसोर्टले ६५ फिटको मापदण्डभित्र पर्ने जग्गाधनीलाई न्यायोचित मुआब्जा उपलब्ध गराउनुपर्ने धारणा राखेको छ।
अन्त्यमा, वाटरफ्रन्ट रिसोर्टले आफू कुनै विवादको पक्ष नभई समाधानको साझेदार बन्न चाहेको स्पष्ट पार्दै सरकार, स्थानीय निकाय तथा सरोकारवालासँग सहकार्य गरी फेवा ताल संरक्षण र दिगो पर्यटन विकासमा योगदान दिने प्रतिबद्धता दोहोर्याएको छ।











प्रतिक्रिया