मैले गृहमन्त्रीलाई चिठी पहिला एकपटक लेखेको थिएँ तर चिठी हात पर्दा नपर्दै वा पढिनसक्दै गृहमन्त्री बदली भएका कारण त्यो त्यसै अलपत्र प¥यो कि जस्तो लाग्छ । हुन त आजकल चिठी न लेख्ने चलन छ, न पढ्ने । आफैंमा इतिहास भैसक्यो चिठी लेख्ने, लेखाउने र पढ्ने प्रचलन पनि । तर मनमा हुटहुटी लागेपछि चिठी लेखें ।
देशमा समय नपुग्दै चुनाव भयो । चुनाव पनि अचम्मै भयो । लामो समयपछि कुनै एक दलको बहुमत आयो, झन्डै दुई तिहाइ बहुमत । बहुमत नआएर भागशान्ति गर्दै समीकरण गर्नुपर्ने, एक दलसँग मात्र हैन, धेरै सानातिना दलहरुलाई फकाएर, फुल्याएर सरकार टिकाउनुपर्ने अवस्था अब रहेन । धन्न पुरानाले आ–आफू मिलेर थ्रेसहोल्ड बेलैमा बुद्धि पु¥याएर बनाएछन्, बढाएर राखिदिएको भए धेरै दल यही चुनावमा सोत्तर पो हुने रहेछन् ।
विकसित देशमा को गृहमन्त्री छ भन्ने मतलब हुँदैन । विदेशमन्त्री, अर्थमन्त्री, रक्षामन्त्रीकै चर्चा बढी हुन्छ विश्वभर । नेपालको सन्दर्भ भने फरक छ, यहाँ प्रधानमन्त्रीपछि हुने चर्चा गृहमन्त्रीकै हुने गर्छ । अझ स्थानीय प्रशासन, दुई पुलिस संगठनलाई त झनै बढी हुने गर्छ, किनकि त्यसको संयन्त्र देशैभरि फैलिएको हुन्छ । पङ्क्तिकारले दुवैको भोटो फटाएको र रासनपानी खाएको कारण त्यही सेरोफेरोमा उधिन्ने जमर्को गरेको छ ।
जेनजी युवाहरुबाट बगेको रगतको आहाल र भोलिपल्ट अलेप्पो र गाजापट्टीजस्तैमा परिणत भएको राजधानीको भुङ्ग्रोबाट उदाएका युवा गृहमन्त्रीको काँधमा देशको आन्तरिक सुरक्षा, स्थानीय प्रशासन, सीमा सुरक्षालगायतका देखिएका÷नदेखिएका सबै कामको जिम्मेवारी बहन गरेजस्तो गर्ने गृह मन्त्रालयको अभिभारा आइपुगेको छ । यतिखेर दुवै पुलिसको मुख्यालय पुगेर कतै सलामी खाँदै राज्यले उपलब्ध गराएका थोत्रामोत्रा सामानहरुको नजर भएको छ । जो आउँदा पनि देखाउने दान दिएका दोस्रो विश्वयुद्धतिरका सडकतिर ताक्दा ढोकातिर, घुँडामुनि ताक्दा कोखातिर लाग्ने बन्दुक अनि राधेराधेतिर डुबानमा काम लाग्ने डुंगा, बन्चरो, आरो, गारो भत्काउन मिल्ने मेसिन, घन, विभिन्न डोरीका फुर्का नजरसमेत गराइसकिएको छ । यसबाट पक्कै पनि कस्तो हबिगतमा छन् देश धान्ने निकायहरु भन्ने भित्रभित्रै आभाससमेत भइसकेको हुनुपर्छ । रक्षा र सुरक्षाको आयाम कहाँ पुग्यो, दुईफिटे खुकुरी र ६ फिटे तरबारबाट शुरु भएको लडाइँको क्षमता आकाशबाट कैयौँ नटिकल माइल पार गरेर देशको संवेदनशील केन्द्र तथा व्यक्ति ताकेर ध्वस्त पारिदिने जमानाको तुलना गर्दा हामी मध्यकालीन जुगाडमै छौं । त्यसैले जे उपलब्ध छ, त्यही नदेखाएर के देखाऊन् बिचरा ? धन्न त्यत्ति पनि छ र नजर गराए ।
पहिलाका धेरै गृहमन्त्रीले भाषण त पढे । शायद के लेखेको थियो, के पढियो, त्यो भोलिपल्ट बिर्सिए । पीए भन्नेले बोकेको त्यो कागजको चिर्केटो क्वार्टरको कुन कुनामा फाल्दियो । किनकि यो बीचमा बोलिएका कुरा कुनै पनि पूरा भएको देखिँदैन । यसपल्ट भने मन्त्रीले थोरै भए पनि मनका कुरा गरे, लेखी पठाइदिएको पढेनन् कि जस्तो लाग्यो । त्यो राम्रै मान्नुपर्छ ।
पञ्चायती व्यवस्था ढलेपछि प्रजातान्त्रिक व्यवस्थाको शुरुवात भयो २०४८ सालमा । अब सबै कायापलट हुन्छ भन्ने कल्पनामा डुबे नागरिक । तर संस्थागतरुपमा जे सुधार हुनुपर्ने थियो भएन । पञ्चायती शासनको अवस्थामा सेवा शुरु गरेका, प्रशासक, प्रहरीहरु, संस्थागतरुपमा हुनुभन्दा अघि रातारात आफैं प्रजातान्त्रिकजस्तो बन्न पुगे । सोच, प्रवृत्ति, संस्कारको परिवर्तन भएन, गराउने कष्ट पनि उठाइएन । राजा, महाराजा, बडाहाकिम, अञ्चलाधीशलाई लागू हुने ‘बक्स्योस् हजुर’ भनेर, जेलनेल परेर भुक्तभोगी भएका नेताहरुलाई खातिरदारी गर्न शुरु गरे । नेता मख्ख परे । संस्था सुधार्नतर्फ कोही कसैको ध्यान गएन । मान्दामान्दै दोहन गर्न सिकाए, सिके । अनि शुरु भयो चरम राजनीतीरणको दुश्चक्र । नीतिगत सुधारको कुनै प्रयास कहिल्यै हुँदै भएन । जे चलेको छ चल्दै गयो । भएको साख पनि गिर्ने क्रम शुरु भयो । आफ्नो भेकको, अनेक खालको कसरत गर्दै चिनेको, ढोका धाएको, निहुँरिएकोलाई बढुवा, सरुवाबाट पुरस्कृत गर्ने परिपाटी मौलाउँदै गयो ।
शुरुका केही वर्ष प्रतिपक्षका नेतालाई गर्ने व्यवहार नै फरक पर्न गयो । जब अर्को दलले पनि सरकार बनाउने हिम्मत ग¥यो, त्यसलाई पनि उस्तै खातिरदारी गर्न शुरु गरे । २०६४ सालमा त देश नयाँ बन्यो, नयाँ नेपाल भयो । जंगल बसेर, ज्यानको बाजी थापेर आएकाहरुको सरकार पनि बन्यो, प्रजातन्त्र अझ परिष्कृत भएर लोकतन्त्र भयो । अब भने पक्कै सुधार हुन्छ भन्ने ठूलो भरोसा राखियो । तर जंगल बसेर आएका, पीठो, कोदाको रोटी खाँदै डाँडाकाँडामा एम्बुस थापेका, गोलीका छर्रा लागेका, कामरेडहरु त झन् छिटो बिग्रिए, अरुभन्दा फरक हुँ भन्नेहरु अरुभन्दा झन् खराब भन्ने पर्न गयो । स्पष्ट शब्दमा भन्ने हो भने, संस्था बलियो बनाउन कसैले माखो मार्दै मारेनन् ।
गृहमन्त्री व्यक्ति या नामभन्दा पनि बृहत्तररुपमा संस्थाहरुलाई पनि निर्देशित गर्ने संस्था भएको कारण यसको चासो हुने नै भयो । अहिलेसम्मको इतिहास (पञ्चायती कालमा कस्ता थिए कुन्नि ?) मा मन छुने गृहमन्त्री कोही पाइएको छैन । कसैले प्रभाव छाड्न सकेको देखिँदैन । मन्त्रीको काम के हो भन्ने नै नबुझेर हो या बुझ्नतिर नलागेर हो, त्यसो भएको । भेउ पाइएको छैन । किन यस्तो भैरहेको छ त देशमा ? कसैले त्यसतर्फ घोत्लिएर मनन गरेको पाइँदैन । के सुधार गर्नै नसकिने हो त ? कि, हामीले सुधार गर्नेतर्फ चासै दिएनौं । आफू साइरन बजाउँदै अघि–पछि प्रहरी र सशस्त्रका पछुवा लिएर हुइँकिएपछि सुधार त्यही हो भन्ने सोचे ? मन्त्रीज्यू, मज्जाले सकिन्छ सुधार्न । संकल्प चाहिएको छ । बारपाकमा भेडा चराइरहेको गजे घलेलाई अर्काको देशमा विश्वप्रसिद्ध भिक्टोरिया क्रस पाउने बनाउनको लागि त्यसपछाडि रहेको कमान्डर, मर्छु भन्दाभन्दै जीवन हत्केलामा राखेर अघि बढ्न पे्ररित गर्ने संस्थागत संस्कार, मूल्य–मान्यता हो । त्यही गजे घले र तुलबहादुर पुन, अगमसिंह राईजस्तै छन् हाम्रा नौजवान फौज, तर खै आफ्नै देशमा लिन सकेको, खै उत्प्रेरित तुल्याएको ? त्यो कसले गर्ने ? अब यहाँहरुले अनि हामी सबैले ।
गृहमन्त्रीज्यू, सुरक्षा निकायहरु र दुई प्रहरी संगठनका समस्याहरु धेरै छन् । पहिला पनि मारिए, हिजो पनि मारिए र भोलिका दिनमा घानमा पर्ने पनि यही छ । दोष जति बोक्ने सदा अचानो बन्दै आएको पनि यही छ । काम ठीक गरेन भन्न त सजिलो छ तर त्यो काम गर्ने प्रहरीको मनोविज्ञांन, मनस्थिति, मनभित्र चलिरहेको आँधी, अनेकौं बोझले थिचिएको प्रहरीभित्रको मान्छे बुझ्ने काम हालसम्म कतैबाट भएको पाइँदैन । ठीक भएन त वर्षौं, दशकौंसम्म ठीक तुल्याउने जिम्मा कसको हो ? सधैँ दुई पुलिसको समन्वय, परिचालन, जश–अपजशका समस्या एकपटक पो हुन्छ, जहिल्यै किन बल्झिरहेको छ ? यो मिलाउने जिम्मा गृह मन्त्रालयकै हो । के हेरेर बसे त यतिन्जेल ? के गर्दा राम्रो बनाउन सकिन्छ ? त्यो बनाउने ठाउँमा यहाँ आइपुग्नुभएको छ र यहाँहरुको सरकार आएको छ । त्यसलाई मिहिन तवरमा केलाएर अब अघि बढ्ने काम आजैबाट शुरु गर्नुस् ।
यो देशमा को हुन्छ सिपाही, कहाँको हुन्छ, कस्तो हुन्छ, किन हुन्छ ? त्यसबाट शुरु गर्दिनुपर्ने भएको छ । दरबारमार्ग या पृथ्वीचोकमा अविचलित उभिरहने सिपाहीले चिल्ला मोटरमा हुइँकिने कतिलाई सलाम ग¥यो होला ? आधा जीवन पसिनै पसिनाले निथ्रुक्क भिजे पनि अगाडिबाट कुद्ने हजारौं मोटर कुनै दिन मेरो पनि हुन्छ भन्ने कल्पना गर्नै सक्दैन, आकाशका तारासरि शहरमा बल्ने बत्तीभित्र कुनै बत्ती मेरो घर बनेर पनि बल्ला भन्ने कहिल्यै आशा गर्दैन । पेन्सन पट्टामा कम्तीमा २० वर्ष सेवा गरेकाको पेन्सन २० हजारसम्म पनि प्राप्त नगरी फेरि गाउँ फर्कन्छ । कसरी कटाउला जिन्दगी ? कसरी पाल्ला लालाबाला ? त्यसको आत्माले के सोच्ला ? त्यसको आत्मा नरुवाउनेतर्फ त्यसलाई बु्झ्ने प्रयास गर्दिनुस् ।
नीति तथा योजना, वृत्तिविकास, सुविधाहरु काँधमा जति धेरै फुली लगाएका तिनको बाट हैन, ९५ प्रतिशत जनशक्ति रहने तलको दर्जाबाट केलाउन थाल्नुस् । कपडा हेर्न थाल्नुभएको छ, अब ब्यारेक हेर्नुस्, बीँड फुत्केर सिठ्ठी नलाग्ने प्रेसर कुकर, ध्वाँसो लागेका, कुच्चिएका सिल्टीका दुई–चार भड्डु, पानी खाने मैला प्लास्टिकका जग मात्र भएको, नामले भने ‘हाम्रो बिल्लादार जवान मेस’ भनिएको तर्फ पनि नजर लगाइदिनुस् । राम्रोसँग मम नआउने जति त दिनको राशन रहेछ भन्ने थाहा पाउने यहाँ पहिलो गृहमन्त्री हो न्यु नेपालको इतिहासमा । अब थाहालाई परिवर्तनमा अगाडि बढाइदिनुस् ।
पुलिसलाई पहिला जसको सरकार आयो तिनैको जस्तो बनाउने प्रयास गरियो । अब यहाँहरुको सरकार आएको छ, त्यस्तो नबनाउनु्स्, देश र जनताको पुलिस बनाउनेतर्फ कार्ययोजना ल्याउनु्स् । सिभिल कपडा, अझ दौरा–सुरुवाल लगाएको भएपछि त्यसले हाँक्ने हो भन्ने सोचलाई सिभिल सुप्रिमेसी भनेर अपव्याख्या गर्दै आइएको छ । जननिर्वाचित सरकारअन्तर्गत सुरक्षा निकाय भनिएको हो सिभिल सुप्रिमेसी ।
मन्त्री, नेता, तिनका आफन्त, परिवारलाई ढोका–ढोकामा गएर चिन्नुपर्ने, सरुवा–बढुवा किन्नुपर्ने प्रथालाई न कहिल्यै कसैलाई चिन्नुपर्ने, न किन्नुपर्ने बनाइदिनुस् । कार्यभारको हिसाबले सम्बन्धित नेतृत्वबाहेक सुरक्षा फौजको अनुशासन, चेनअफ कमान्ड, मर्यादालाई बेवास्ता गरी मन्त्री खोज्दै ‘म पनि अलि पुरानो जेनजी नै हो हजुर’ भनेर साखुल्ले पर्न आउनेलाई नख्खुको पुल तरेर भैंसेपाटीको उकालो कट्नै नदिनुस् । त्यस्ता प्रवृत्तिकालाई बरु राणाले चार भन्ज्याङ कटाएजस्तो चारपाटा नमुडीकन कटाउनुस् ।
मन्त्री, नेता, तिनका आफन्त, परिवारलाई ढोका–ढोकामा गएर चिन्नुपर्ने, सरुवा–बढुवा किन्नुपर्ने प्रथालाई न कहिल्यै कसैलाई चिन्नुपर्ने, न किन्नुपर्ने बनाइदिनुस् । कार्यभारको हिसाबले सम्बन्धित नेतृत्वबाहेक सुरक्षा फौजको अनुशासन, चेनअफ कमान्ड, मर्यादालाई बेवास्ता गरी मन्त्री खोज्दै ‘म पनि अलि पुरानो जेनजी नै हो हजुर’ भनेर साखुल्ले पर्न आउनेलाई नख्खुको पुल तरेर भैंसेपाटीको उकालो कट्नै नदिनुस् । त्यस्ता प्रवृत्तिकालाई बरु राणाले चार भन्ज्याङ कटाएजस्तो चारपाटा नमुडीकन कटाउनुस् । त्यस्ताहरु कन्सुत्लाजस्ता हुन् । हिजो कतै पुगेर जी हजुरी गरे तर अहिले तिनैलाई बाटोमा देखेमा सलाम गर्दैनन् । बरु, सिपाहीलाई बीचमै यो जागिरले अब हुँदैन भन्दै या पेन्सन पाकेको भोलिपल्ट खाडी भासिनुपर्ने बाध्यता के हो भन्नेतर्फ सोचिदिनुस् । दशगजा जोगाउन गस्ती गरिरहेको सिपाही, बाँच्न धौ–धौ परेपछि भारतमा चौकिदार गर्ने गौरीफण्टा हुँदै गुजरात या बनवासा भएर बरेलीतर्फ हान्निनुपर्ने नमीठो यथार्थतालाई केलाउनुस् । गर्ने कामहरु धेरै छन् ।
परिवर्तन आजको भोलि नै आइहाल्ने विषय पनि होइन तर सही मान्छेको सल्लाह, स्पष्ट दृष्टिकोण, असल सोच, अल्पकालीन र दीर्घकालीन योजना तथा रणनीति, देश र जनताप्रतिको मायालाई आत्मसात् गर्दै बिस्तारै अघि बढिएको खण्डमा राम्रो बन्छ । त्यसैले हतारिएरभन्दा पनि होस पु¥याएर काम गर्दै अघि बढ्नुस् । द्रव्य शाहको पालादेखि नभएको काम रातारात बालेन शाहकै पालामा सकिन्छ भन्ने पनि हामी ठान्दैनौं । फुकी–फुकी पाइला चाल्दा राम्रो होला । त्यसको लागि सबैको साथ रहनेछ । विचार पनि पु¥याउनुस् । न्याय खोज्न विन्तिपत्र बोकेर गोरखा जानुपर्ने जमाना रहेन अब, स्वयं गोर्खाली यतै आएपछि यहाँहरु सबै भएर न्याय दिनुस् । कार्यकालको शुभकामना ! जयनेपाल !
(लेखक थापा अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक हुनुहुन्छ ।)











प्रतिक्रिया