राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा वीपी अस्पतालका बिग्रेका औजार–उपकरण मर्मत गरिने


काठमाडौँ।

नेपाल सरकारको शासकीय सुधार कार्यसूचीअनुसार सेवा प्रणाली सुधार गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १३ बुँदे सुधार योजना सार्वजनिक गरेको छ।

प्रतिष्ठानद्वारा जारी विज्ञप्ति अनुसार मन्त्रिपरिषद्को यही चैत १३ गते स्वीकृत शासकीय सुधार कार्यसूचीको स्वास्थ्य सेवा सुधारका विषयमा प्रतिष्ठानको उच्चस्तरीय बैठकले उक्त निर्णयहरू गरेको हो । बैठक प्रतिष्ठानका उपकुलपति विक्रमप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।

सुधारका अन्तिम बुँदामा प्रतिष्ठान अस्पतालका बिग्रिएका औजार तथा उपकरणहरूको मर्मत कार्यलाई थप प्रभावकारी बनाउन राष्ट्रिय आविष्कार केन्द्र सँग सहकार्य गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको उल्लेख छ ।

प्रतिष्ठानले निःशुल्क बेड सेवा पारदर्शी बनाउन तत्काल तथ्याङ्क देखिने विद्युतीय प्रणाली सञ्चालन गर्नेछ । बिरामी सिफारिस, पुनः जाँच तथा उपचार समन्वय प्रभावकारी बनाउन “बिरामी प्रेषण राष्ट्रिय निर्देशिका-२०८१” पूर्ण रूपमा कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।

कर्मचारी उपस्थिति व्यवस्थित बनाउन जैविक पहिचान आधारित हाजिरी प्रणाली थप कडाइ गरिनेछ । त्यसको अनुगमनका लागि समिति गठन गरिएको छ । अस्पतालको सरसफाइ तथा आधारभूत सेवा मापदण्ड सुधारका लागि छुट्टै अनुगमन समिति पनि गठन गरिएको छ ।

अस्पताल फार्मेसीमा उपलब्ध औषधिको मौज्दात तथा मूल्य दर विवरण देखिने अस्पताल परिसर र आधिकारिक वेबसाइटमा सार्वजनिक गरी पारदर्शी गरिनेछ ।

जलनका बिरामीहरूलाई आधारभूत स्वास्थ्य सेवा तथा बेड निःशुल्क गर्ने निर्णय गरिएको छ । बिरामीसँगको व्यवहार सुधार गर्न ‘मुस्कानसहित सेवा’ अभियान प्रभावकारी बनाइने छ ।

सेवा प्रवाहलाई छरितो बनाउन टिकट प्रणालीलाई थप व्यवस्थित गरिनेछ भने ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका तथा विशेष आवश्यकता भएका सेवाग्राहीलाई प्राथमिकता दिने व्यवस्था सुदृढ गरिनेछ ।

गुनासो तथा सुझाव व्यवस्थापनका लागि ‘हेलो बीपीकेआईएचएस’ अनलाइन पोर्टलसँगै द्रुत प्रतिक्रिया दिने डिजिटल प्रणाली लागू गरिने र गुनासो पेटिकाको सङ्ख्या बढाइने निर्णय गरिएको छ।

त्यसैगरी, बिग्रिएका औजार तथा उपकरणहरूको मर्मत कार्यलाई थप प्रभावकारी बनाउन राष्ट्रिय आविष्कार केन्द्र सँग सहकार्य गर्ने प्रक्रिया अघि बढाइएको छ ।