काठमाडौं।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सगरमाथा क्षेत्रमा पर्यटकसँग सम्बन्धित ‘फेक रेस्क्यु’ प्रकरणबारे सार्वजनिक भइरहेका भ्रामक तथा तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
हालै ब्यूरोले गरेको अनुसन्धानलाई आधार बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा पथप्रदर्शक (गाइड) हरुले पर्यटकको खानामा विषाक्त पदार्थ मिसाई जानाजानी बिरामी बनाउने र त्यसपछि ‘फेक रेस्क्यु’ गर्ने गरेको भन्ने आशयका समाचारहरू सम्प्रेषण भइरहेकोप्रति सीआईबीले आपत्ति जनाएको हो।
ब्यूरोका अनुसार अहिलेसम्मको अनुसन्धानमा पर्यटकको खानामा कुनै किसिमको विषाक्त वस्तु मिसावट गरिएको भन्ने तथ्य पुष्टि भएको छैन। यस्ता अप्रमाणित विषयलाई आधार बनाएर समाचार प्रकाशन तथा प्रसारण गर्नु गैरकानुनी कार्य हुने सीआईबीले स्पष्ट पारेको छ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले तथ्यहीन समाचारले मुलुकको पर्यटन क्षेत्रको विश्वसनीयतामा गम्भीर असर पार्न सक्ने बताउँदै यस्ता सामग्री प्रकाशन तथा प्रसारण नगर्न सबै सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई आग्रह गरे।
उनले जिम्मेवार र तथ्यमा आधारित पत्रकारितालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अपुष्ट सूचना सम्प्रेषण नगर्न सबै पक्षलाई सचेत गराएका छन् ।











प्रतिक्रिया