काठमाडौं
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत ‘रसियन फिल्म डेज’ शुक्रबारबाट सुरु भएको छ। नेपाल र रुसबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसर पारेर आयोजना गरिएको यो कार्यक्रमलाई सांस्कृतिक सम्बन्ध विस्तारको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।
कमलपोखरीस्थित रसियन हाउसमा आयोजित उद्घाटन समारोहमा नेपालका लागि रसियन चार्ज डे अफेयर्स तथा मिनिस्टर काउन्सिलर रिन्चेन सोक्सायेभ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले सहभागी थिए।

शुभकामना मन्तव्यका क्रममा सोक्सायेभले चलचित्र समाजमा गहिरो प्रभाव पार्ने माध्यम भएको उल्लेख गर्दै फिल्म क्षेत्रका व्यक्तिहरूबीच सहकार्य र सद्भाव आवश्यक रहेको बताए। उनले ‘रसियन फिल्म डेज’ ले यही उद्देश्यलाई अघि बढाउँदै आएको बताए।
सदस्य सचिव काफ्लेले नेपाल–रुस मित्रताको ७० वर्ष पुगेको सन्दर्भमा निफ र रसियन फिल्म डेजबीचको सहकार्यलाई विशेष महत्वको रूपमा व्याख्या गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रममा रसियन फिल्म डेजकी सह–अध्यक्ष आनास्तासिया खाख्लोभाले जारी फिल्म महोत्सव तथा निफसँगको सहकार्यमा सञ्चालन भइरहेको एआई फिल्म कार्यशालामा सहभागी हुन सबैलाई आमन्त्रण गरिन्। निफका अध्यक्ष केपी पाठकले स्वागत मन्तव्य दिँदै यस्तो सहकार्यले भविष्यमा अन्तर्राष्ट्रिय सहकार्यका थप ढोका खोल्ने विश्वास व्यक्त गरे।
उद्घाटन सत्रमा ऐतिहासिक थ्रिलर फिल्म ‘अगस्ट’ प्रदर्शन गरिएको थियो। दोस्रो विश्वयुद्धको अन्तिम चरणमा आधारित उक्त फिल्मले सोभियत रेड आर्मीलाई पछाडिबाट हुन सक्ने आक्रमण रोक्न काउन्टर इन्टेलिजेन्स एजेन्सीले गरेको प्रयासलाई चित्रण गर्छ। फिल्मको निर्देशन इल्या लेबेदेभ र निकिता भिसोत्स्कीले गरेका हुन्।
महोत्सव अन्तर्गत प्रदर्शन हुने अन्य आकर्षक फिल्महरूमा अन्तरिक्षमा छायांकन गरिएको विश्वकै पहिलो फिचर फिल्म ‘द च्यालेन्ज’, एडभेन्चर पारिवारिक फिल्म ‘द डाइनो फैमिली’ र विद्यालयस्तरको बुलिङ समस्यामा केन्द्रित ‘अल रङ गर्ल’ रहेका छन्।

क्लिम शिपेन्कोद्वारा निर्देशित ‘द च्यालेन्ज’ सन् २०२१ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा छायांकन गरिएको फिल्म हो। शून्य गुरुत्वाकर्षणमा गरिने शल्यक्रियाको कथाले यसलाई विश्व सिनेमामा एक फरक प्रयोगको रूपमा स्थापित गरेको छ। आयोजकका अनुसार ‘रसियन फिल्म डेज’ अन्तर्गतका सबै फिल्महरू रसियन हाउसमा आगामी सोमबार अर्थात अप्रिल ६ तारिखसम्म निःशुल्क प्रदर्शन गरिनेछ।

निफ २०२६ अप्रिल २ देखि ६ सम्म काठमाडौंका विभिन्न स्थानहरूमा सञ्चालन भइरहेको छ। क्यूएफएक्स छाया सेन्टर, सिभिल मल, नेपाल पर्यटन बोर्ड र रसियन हाउसमा ८८ भन्दा बढी फिल्म प्रदर्शन भइरहेका छन्। “फ्युचर फर्वार्ड” थिमसहित आयोजना गरिएको महोत्सवले विशेषगरी नयाँ पुस्ताका फिल्मकर्मीहरूको रचनात्मकतालाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।
सन् १९५६ मा स्थापित नेपाल–रुस कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको ‘रसियन फिल्म डेज’ ले दुई देशबीचको सांस्कृतिक आदानप्रदानलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया