मध्यपूर्व तनाव बढ्दै, युद्ध रोक्न गुटेरेसको चेतावनी


काठमाडौँ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सबै पक्षहरूलाई युद्ध रोक्न र तत्काल युद्धविराम गर्न अपील गरेका छन्।

न्यूयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै उनले इरानसँग सम्बन्धित बढ्दो तनावले विश्वलाई “ठूलो युद्धको संघारमा” पुर्‍याएको चेतावनी दिए। उनका अनुसार यो द्वन्द्व विस्तार भए सम्पूर्ण मध्यपूर्व प्रभावित हुने र यसको गम्भीर विश्वव्यापी असर पर्नेछ।

गुटेरेसले बढ्दो मुद्रास्फीति र ऊर्जा तथा खाद्यान्नको मूल्यवृद्धिले सर्वसाधारणमा चिन्ता बढाएको उल्लेख गरे। विशेषगरी होर्मुज जलडमरूमध्यमा तनाव बढे विश्वका गरिब र जोखिममा रहेका समुदाय अझ बढी प्रभावित हुने उनको भनाइ छ।

उनले सबै पक्षलाई शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्न आग्रह गर्दै नागरिक पूर्वाधारको संरक्षण गर्नुपर्नेमा जोड दिए।

गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई युद्ध रोक्न आग्रह गर्दै यसले ठूलो मानवीय क्षति र आर्थिक प्रभाव पारिरहेको बताए। साथै, उनले इरानलाई पनि आफ्ना छिमेकीहरूमाथि आक्रमण नगर्न अपील गरेका छन्।