दशौँ ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ को आयोजना

940
Shares

भक्तपुर ।

नयाँ वर्ष २०८३ तथा विस्का जात्राको अवसर पारेर भक्तपुरमा दशौँ ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ आयोजना गरिने भएको छ ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा महोत्सव भक्तपुरस्थित सल्लाघारीमा यही चैत २६ गतेदेखि आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने जानकारी आज आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो ।

भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको संयोजक दिपक थापाले जानकारी दिए ।

महोत्सवमार्फत उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउनुका साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रबद्र्धन गरिने भएको छ ।

आयोजक संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्नका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । महोत्सवमा पाँच करोडभन्दा बढीको आर्थिक कारोबार हुने र करिब दुई लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

महोत्सवमा १८० भन्दा बढी प्रदर्शनीकक्ष रहनेछन् । ती प्रदर्शनीकक्षमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्री बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको पनि प्रदर्शनी गरिने आयोजकले जनाएका छन् ।

महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’को प्रतिकृति (स्ट्याचु) राखिनेछ भने बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधनको व्यवस्था गरिनेछ । साथै विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको दैनिक सांगीतिक प्रस्तुति (विशेष कन्सर्ट) आयोजना गरिने जनाइएको छ ।

महोत्सवअन्तर्गत आगामी वैशाख ५ र ६ गते ख्यातिप्राप्त कलाकार सहभागी विशेष कन्सर्ट कार्यक्रम आयोजना हुने जनाइएको छ ।