बुबाको मृत्यु भएको तेह्रौँ दिनमा एसईई

3.38k
Shares

धादिङ । 

बुबाको मृत्युले शोकमा बसेको बेलामा एसईई परीक्षामा सहभागी हुनु धार्मिक परम्परा र संस्कृतिले सुहाउने विषय होइन तर गल्छी गाउँपालिका वडा नम्बर ७ मा रहेको द राइजिङ भिलेज बोर्डिङ स्कुलका एक विद्यार्थीले शोक भनेर कोराभित्र मात्र सिमित हुन पाएनन् । 

माध्यमिक शिक्षा अन्तरगत  महत्त्वपूर्ण एसईईको तयारीमा रहेको बेला बुबा गुमाएका सन्देश ढकालले कोरा बारेको अवस्थामा एसईई परीक्षामा सहभागी भएका छन् । महाकाली मावि सिम्ले परीक्षा केन्द्रमा सहभागी ढकालको बुबाको मृत्यु भएर सेतो लुगामा परीक्षा दिन आएका ढकाललाई सबै विद्यार्थीभन्दा छुट्टै राखेर एसईई परीक्षामा सहभागी गराइएको केन्द्राध्यक्ष देवेन्द्र अर्यालले बताए । 

हार्डअट्याक भएर बुबाको मृत्यु भएको तेह्रौँ दिनमा परीक्षामा सहभागी हुनुभएकोले उहाँलाई सांस्कृतिक र धार्मिक भावना अनुसार कसैले पनि नछोई परिक्षाकेन्द्र पुर्‍याइएको विद्यालयका प्रिन्सिपल नवराज ओझाले जानकारी दिए । 

द राइजिङ भिलेज बोर्डिङ स्कुल बैरेनीका नकुल ओझाले खुट्टा भाँचिएको अवस्थामा परीक्षा केन्द्रमा व्यवस्था गरिएको बेडमा सुतेर परीक्षा दिनुभयो भने सोही विद्यालयका अनुखतिवडाले पनि खुट्टा भाँचिएका कारण छुट्टै बेडमा बसेर आफैँले परीक्षामा लेखेर परीक्षा दिनुभएको केन्द्राध्यक्ष अर्यालले बताए ।

धादिङ जिल्लामा ५ हजार ४६ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् । यस मध्ये नियमित तर्फ ४ हजार २ सय ४६ र पूरकतर्फ ८ सय जना सहभागी भएको र जिल्लाको परीक्षा शान्तपूर्वक मर्यादितरुपमा पहिलो दिन सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल शर्मा सुवेदीले बताए ।