उदयपुर सिमेन्ट उद्योग नयाँ व्यवस्थापन अनुसार सञ्चालनको तयारी

2.91k
Shares

उदयपुर ।

 सरकारीस्तरबाट सञ्चालित देशको मात्र नभएर दक्षिण एशियाकै सबैभन्दा ठूलो सिमेन्ट कारखानाका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योग अब नयाँ सरकार आएकोले नयाँ व्यवस्थापन अनुसार सञ्चालन हुने भएको छ । 

२०४४ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योगले २०४९ सालदेखि गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको छ भने दैनिक ८ सय मेट्रिक टन उत्पादन क्षमता भए पनि पुराना मेसिन मर्मत संभार गर्न नसक्दा पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन भने बढीमा ६ सय मेट्रिक टन क्षमतामामात्र संचालन भएको छ । २०४९ सालमा जापान सरकारले उपलब्ध गराएको मेसिनरी पार्टपुर्जाका भरमा तथा थोत्रा मेसिनका भरमा उद्योग सञ्चालनमा आइरहेको छ ।

उद्योगका निमित्त महाप्रबन्धक कोविद काफ्लेले उद्योग सिमेन्ट उत्पादनको प्रक्रियामा रहेको जानकारी दिंदै सिमेन्ट उत्पादनकालागि आवश्यक पर्ने कोइला तत्काल केही दिनलाई पुग्ने अवस्थामा रहेको छ भने करिब ६० हजार बोरा गैडाछाप सिमेन्ट स्टकमा रहेको र बजारमा बिक्री वितरणको काम पनि भइरहेको बताउनु भयो ।

निमित्त महाप्रवन्धक काफ्लेले हाल अमेरिका तथा इरान विचको तनावका कारणले गर्दा उद्योगलाई आवश्यक पर्ने विभिन्न प्रकारका कच्चा पदार्थ लगायतका सामानहरु अत्यधिक महंगो भएकोले लागत बढ्न गएको हुँदा समस्या भएको बताउनु भयो ।

अबको केही दिनमा उद्योगले नियमित रुपमा सिमेन्ट उत्पादन सुरु गर्ने जानकारी दिंदै काफ्लेले अहिले नयाँ सरकार गठन भएकोले नयाँ सरकारले नयाँ व्यवस्थापन अनुसार उद्योग सञ्चालनको तयारी गरिरहेको हुँदा सोही अनुसार आन्तरिक व्यवस्थापन पनि भइरहेको बताउनु भयो ।

काफ्लेले हाल उद्योगबाट अवकास पाएका १ सय ४० जनाले नियमानुसार पाउनु पर्ने सेवा सुविधा घरविदा, बिरामी विदाको, औषधी उपचारको लगायतका नियमानुसार पाउनु पर्ने सुविधा करिब ७५ करोड रुपियाँ सेवा निवृतहरुकालागि सेवा सुविधा दिन बाँकी रहेको बताउनु भएको छ ।

उद्योगका प्रशासन प्रमुख गम्भिरजंग खत्रीले उद्योगमा जम्मा ५ सय ३३ जनाको दरबन्दी रहेकोमा हाल स्थायी १ सय ८१ जना कर्मचारी र करार सेवाका सुरक्षा गार्ड ६० जना रहेकोमा २०८१ फागुनदेखि हालसम्म १ वर्षको तलब भत्ता खान नपाएको जानकारी दिनु भयो । 

करिब ४ वर्ष अघिदेखि अनिवार्य अवकास पाएका र स्वच्छिक अवकास लिएका १ सय ४० जना सेवा निवृत्त कर्मचारीहरुले उद्योगको नियमानुसार पाउने सेवा सुविधा दिन बाँकी रहेको र एक वर्षदेखि तलब खान नपाएको अवस्था रहेकोले तत्काल तलब खुवाउन प्रति महिना १ करोडका दरले १ वर्षको १२ करोड रुपैयाँ आवश्यक रहेको प्रशासन प्रमुख खत्रीले बताउनु भयो ।  

उद्योगलाई पूर्ण क्षमतामा संचालन गर्नकालागि मेसिनहरुको मर्मत सम्भार, अवकास पाएका सेवानिवृत कर्मचारीहरुको, सेवा सुविधा, मासिक तलव भत्ता तथा अन्य समेत गरेर अहिले उद्योगले करिब रु.२ अर्व ५० करोड दायित्व बोकेको छ । मुख्य रुपमा अमेरिका  इरान तनावका कारण कोइला लगायतका अन्य कच्चा पदार्थ महंगो भएकोले समयमा सिमेन्ट उत्पादनमा समस्या भएको छ । बजारमा निजी क्षेत्रका सिमेन्ट उद्योगहरुबाट उत्पादित कम गुणस्तरका सिमेन्टको मूल्य कम रहेकोले हालीमुहाली रहेको छ । तर गैँडा छाप सिमेन्टको गुणस्तर उच्चकोटीको भए पनि मूल्य समायोजन हुन नसक्दा उपभेोक्ताहरुले निजी क्षेत्रबाट उत्पादित सिमेन्ट बढी प्रयोग गर्ने गरेको कारण गैँडा छाप सिमेन्टको बजार खस्केको अवस्था रहेको उपभोक्ताहरुले बताएका छन् ।