वैशाख २ देखि आर्थिक गणना, लमजुङमा सचेतना गोष्ठी सम्पन्न

940
Shares

लमजुङ।

लमजुङसहित देशैभर आगामी वैशाख २ गतेदेखि दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु हुने भएको छ। यसअघि २०७५ सालमा पहिलो पटक आर्थिक गणना गरिएको थियो।

आर्थिक गणनाको उद्देश्य, तयारी तथा कार्यान्वयन प्रक्रियाबारे जानकारी दिन बिहीबार बेसीशहरमा जिल्लास्तरीय सचेतना गोष्ठी सम्पन्न भएको छ। जिल्ला आर्थिक गणना कार्यालय लमजुङको आयोजनामा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो।

कार्यक्रममा जिल्ला आर्थिक गणना अधिकारी कृतिका चौधरीले गणनाको उद्देश्य, जिल्लामा भइरहेको तयारी तथा नीतिगत व्यवस्थाबारे जानकारी दिनुभयो। उहाँका अनुसार गणनाका लागि खटिने गणकहरू घरघरमा पुगेर उद्योग, प्रतिष्ठान तथा पसलहरूको आधारभूत विवरण संकलन गर्नेछन्। संकलित तथ्यांकको आधारमा आधिकारिक विवरण प्रकाशन गरिनेछ।

उहाँले सही तथ्यांक संकलनका लागि सबै सरोकारवाला निकाय तथा व्यक्तिहरूको सहयोग आवश्यक रहेको उल्लेख गर्दै संकलित विवरण पूर्ण रूपमा गोप्य रहने भएकाले निर्धक्क रूपमा यथार्थ जानकारी उपलब्ध गराउन आग्रह गर्नुभयो।

जिल्लास्तरीय आर्थिक गणना समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले आर्थिक गणनाले मुलुकको समग्र आर्थिक अवस्था र आयस्थिती पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

त्यस्तै, बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले देश तथा स्थानीय तहको विकासका लागि तथ्यांक अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै विश्वसनीय डाटा संकलनमा जोड दिनुभयो। उहाँले गोपनीयताको सुनिश्चिततासँगै तथ्यांक संकलन गरिनुपर्नेमा पनि विशेष जोड दिनुभयो।

कार्यक्रममा मर्स्याङ्दी गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरकुमार श्रेष्ठ, विभिन्न निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूले तथ्यगत विवरण संकलन, गोपनीयता र तथ्यांकको प्रभावकारी उपयोगमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए।

आर्थिक गणनाको मुख्य उद्देश्य देशभर रहेका प्रतिष्ठानहरूको संरचना, आर्थिक गतिविधि, लगानी तथा वितरण सम्बन्धी तथ्यांक संकलन गरी नियमित रूपमा सरकारलाई उपयोगी तथ्यांक उपलब्ध गराउनु रहेको छ। यसबाट आर्थिक तथा सामाजिक नीति निर्माण, योजना तर्जुमा, लक्ष्य निर्धारण र प्रगति मूल्याङ्कनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सरकारले प्रत्येक पाँच वर्षमा आर्थिक गणना गर्ने नीति लिएको भए पनि २०७५ सालपछि सात वर्षमा दोस्रो गणना हुन लागेको हो। यस गणनाबाट देश तथा जिल्लास्तरमा उद्योग, व्यापारिक प्रतिष्ठानहरूको संख्या, दर्ता अवस्था, रोजगारीमा संलग्न जनशक्ति, महिला–पुरुष सहभागिता लगायतका विस्तृत तथ्यांक सार्वजनिक गरिनेछ।

कार्यक्रम बुद्धिसागर पराजुलीले सञ्चालन गर्नुभएको थियो भने सहायक आर्थिक गणना अधिकारी विनोद विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।