नागार्जुनबाट ठूलो परिमाणमा लागुऔषध बरामद, एक युवक पक्राउ


काठमाडौं ।

नागार्जुन नगरपालिका–३ स्थित सिता बाल विकास माध्यमिक विद्यालय नजिकै एक घरमा डेरा गरी बस्ने एक युवकलाई ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

बुधबार साँझ करिब ६ बजे लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले नुवाकोट ककनी गाउँपालिका–५ हिले घर भएका २४ वर्षीय सुनिल चिम्से भनिने सुनिल गोलेलाई पक्राउ गरेको हो।

प्रहरीले उनको डेरा कोठामा खानतलासी गर्दा विभिन्न प्रकारका लागुऔषध बरामद गरेको जनाएको छ। बरामद गरिएका लागुऔषधमा ट्रामाडोल ४ हजार ६८० क्याप्सुल, नाइट्राजेपाम १४५ ट्याब्लेट, डाइजापाम ६० एम्पुल, फेनार्गन ५८ एम्पुल र नुर्फिन ५८ एम्पुल रहेका छन्।

त्यसैगरी, प्रहरीले विभिन्न कम्पनीका ३ थान मोबाइल र नगद १७ हजार ३०० रुपैयाँसमेत बरामद गरेको छ।

पक्राउ परेका गोलेलाई नियन्त्रणमा लिई प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।