काठमाडौं।
पूर्व युवराज पारस शाहको मुटुमा जडान गरिएको इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) को ब्याट्री परिवर्तन गरिएको छ । उक्त प्रक्रिया नर्भिक इन्टरनेशनल हस्पिटलमा सफलतापूर्वक सम्पन्न भएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालका अनुसार आइतबार बिहान डा. यादवदेव भट्टको नेतृत्वमा चिकित्सक टोलीले शाहको आईसीडी उपकरणको ब्याट्री परिवर्तन गरेको हो । बिहान करिब ८ बजे अस्पताल पुगेका शाहको आवश्यक स्वास्थ्य परीक्षणपछि साढे ९ बजे शल्यक्रिया प्रक्रिया सम्पन्न गरिएको थियो ।
उपचारमा संलग्न चिकित्सक डा. भट्टले पुरानो ब्याट्रीले काम गर्न छाडेपछि नयाँ ब्याट्री जडान गरिएको जानकारी दिनुभयो । “उहाँको मुटुमा पहिले नै आईसीडी जडान गरिएको थियो । अहिले त्यसको ब्याट्री परिवर्तन गरिएको हो, अवस्था सामान्य छ,” उहाँले भन्नुभयो ।
शाहलाई सन् २०१३ फेब्रुअरीमा थाइल्याण्डमा बसिरहेका बेला गम्भीर हृदयाघात भएपछि बैंककस्थित अस्पतालमा लामो समय उपचार गरिएको थियो । त्यसपछि उहाँको मुटुको चाल नियन्त्रण गर्न आईसीडी उपकरण जडान गरिएको थियो ।
आईसीडी पेसमेकरजस्तै काम गर्ने एक विशेष उपकरण हो, जसले मुटुको धड्कन असामान्य हुँदा त्यसलाई नियन्त्रण गर्न मद्दत गर्छ । मुटुको चाल अत्यधिक कम हुने वा अनियमित हुने अवस्थामा यसले आवश्यक विद्युत् संकेत दिएर मुटुलाई सामान्य अवस्थामा ल्याउन सहयोग पु¥याउँछ ।
चिकित्सकहरूका अनुसार यस्तो उपकरणको ब्याट्री निश्चित समयपछि परिवर्तन गर्नुपर्ने हुन्छ । समयमै ब्याट्री परिवर्तन नगरेमा उपकरणले अपेक्षित रूपमा काम नगर्न सक्छ, जसले बिरामीको स्वास्थ्यमा जोखिम निम्त्याउन सक्छ । डा. भट्टले शाहलाई अझै केही दिन अस्पतालमै राखेर निगरानी गरिने बताएका छन् । “हाल अवस्था स्थिर छ, तर चिकित्सकीय निगरानीका लागि केही दिन अस्पतालमै राखिन्छ,” उहाँले जानकारी दिनुभयो । अस्पताल स्रोतका अनुसार शल्यक्रिया प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको र हाल शाहको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
पछिल्लो समय मुटुसम्बन्धी समस्याबाट गुज्रिरहेका शाहको नियमित स्वास्थ्य परीक्षण तथा निगरानी भइरहेको छ । चिकित्सकहरूले आवश्यक सतर्कता अपनाउन र नियमित परीक्षण गराउन सुझाव दिएका छन् ।











प्रतिक्रिया