काठमाडौंमा वैशाखदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सुरु हुने


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ।

ललितपुर–काठमाडौं बीच उत्तर–दक्षिणको १६ किलोमिटर रुट र थानकोट–अन्तर्राष्ट्रिय विमानस्थल बीच पूर्व–पश्चिमको २० किलोमिटर रुटमा ४ वटा विद्युतीय बस सञ्चालन हुनेछन्।

महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलका अनुसार, साँझ ८ बजेदेखि राति ११ बजेसम्म सेवा सञ्चालन हुनेछ र हरेक बस स्टपमा २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछ। बसमा सीसीटिभी जडान र सुरक्षाका लागि नगर प्रहरी तैनाथ गरिनेछ।

कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘बेलुका सार्वजनिक यातायात नहुँदा महँगो यात्रा र सुरक्षा समस्या देखिन्छ। विशेषगरी किशोरी, महिला र विद्यार्थीले कठिनाइ भोग्दै आएका छन्। रात्रिकालीन बस सेवाले यस समस्यामा सुधार ल्याउनेछ।’

महानगरपालिकाले सेवा अत्याधुनिक, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य राखेको छ र साझेदारहरूसँग सहकार्य गर्ने तयारीमा छ।