काठमाडौं ।
फागुन २१ मा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे बस्ने तय भएको छ। पहिलो बैठकलाई संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलको तर्फबाट सम्बोधन गर्नेछन्। त्यसैगरी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने सम्भावना रहेको बताइएको छ।
कांग्रेसले हालसम्म संसदीय दलको नेता चयन नगरेकाले आङ्देम्बेले बोल्ने तयारी गरिएको हो। अर्जुननरसिंह केसी ज्येष्ठ सदस्यको हैसियतमा सदन सञ्चालनमा संलग्न रहने भएकाले आङ्देम्बेलाई बोल्न अगाडि सारिएको नेताहरूको भनाइ छ। नेकपा (एमाले) का तर्फबाट रामबहादुर थापा ‘बादल’, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले पनि बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
यसैगरी, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दलको तर्फबाट वर्षमान पुनलाई बोल्न अगाडि सार्ने तयारी गरेका छन्। बैठकमा म्याग्दीबाट स्वतन्त्र निर्वाचित सांसद महावीर पुनले पनि सम्बोधन गर्ने अवसर पाउनेछन्। यता, प्रधानमन्त्री बालेन्द्र शाह भने बैठकमा उपस्थित हुने तर सम्बोधन गर्ने कार्यक्रम नरहेको उनको सचिवालयले जनाएको छ।











प्रतिक्रिया