अनलाइनमार्फत वेश्यावृत्तिमा लगाउने अभियुक्त पक्राउ


काठमाडौं ।

अनलाइन माध्यम प्रयोग गरी युवतीलाई आर्थिक प्रलोभनमा पारी जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न एक अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बबरमहल क्षेत्रकी २६ वर्षीया (परिवर्तित नाम) पीडित महिलालाई अभियुक्त शिव बहादुर सारूले फोन तथा म्यासेजमार्फत सम्पर्क गरी आर्थिक प्रलोभन दिएका थिए।

उनले २०८१ साल असोज महिनादेखि विभिन्न माध्यम प्रयोग गरी ग्राहक खोज्ने र ग्राहकको मागअनुसार होटल तथा कोठाहरूमा पठाउने कार्य गर्दै आएका थिए। प्रहरीका अनुसार प्रत्येक ग्राहकबाट रु. ८,००० देखि रु. २०,००० सम्म रकम उठाई पीडितलाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराइएको थियो।

घटनाको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिति २०८१ कात्तिक १२ गते पीडित महिलाको उद्धार गरेको थियो। त्यसपछि मिति २०८१ कात्तिक २६ गते प्राप्त जाहेरीका आधारमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता गरिएको थियो।

फरार रहेका अभियुक्त सारूलाई खोजतलास गर्ने क्रममा मिति २०८२ चैत १८ गते साउदी अरबबाट फ्लाइ दुबईको उडानमार्फत नेपाल फर्कने क्रममा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका अभियुक्तलाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।