काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि स्वास्थ्य समस्याका कारण महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका छन्। शनिबार पक्राउ परेका ओलीलाई प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो। परीक्षणका क्रममा स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि उनलाई अस्पतालमै भर्ना गरिएको हो।
अस्पताल प्रशासनका अनुसार ओली हाल ‘एनेक्स–१’ भवनको शय्या नम्बर ५०१ मा २४सै घण्टा चिकित्सकको निगरानीमा रहेका छन्। अस्पतालका सहायक प्रवक्ता कालीप्रसाद रोस्याराले दिएको जानकारीअनुसार ओलीमा पिसाबमा इन्फेक्सन देखिएको छ भने थप युरिन परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ। ओलीको स्वास्थ्य परीक्षणका क्रममा उच्च रक्तचाप, थाइराइड हर्मोनको कमी, मिर्गौलासम्बन्धी समस्या, पित्तथैलीमा पत्थरी तथा मुटुको धड्कन बढ्ने समस्या एकसाथ देखिएको अस्पतालले जनाएको छ।
विशेषगरी, पित्तथैलीमा २२ एमएमको पत्थरी देखिएकाले शल्यक्रिया आवश्यक पर्ने सम्भावना रहेको चिकित्सकहरूले बताएका छन्। सहायक प्रवक्ता रोस्याराका अनुसार ओली मानसिक रूपमा तयार भएपछि केही दिनभित्रै शल्यक्रिया गर्ने योजना बनाइएको छ। यद्यपि, चिकित्सक टोलीले उनको समग्र स्वास्थ्य अवस्थाको थप मूल्याङ्कन गर्दै केही दिन निगरानीमा राखेर मात्र अन्तिम निर्णय लिने जनाएको छ। यसैबीच, सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का पनि सोही अस्पतालमा उपचाररत रहेका छन्।
आइतबार पक्राउ परेका खड्कालाई स्वास्थ्य समस्या देखिएपछि सोमबार बिहान अस्पतालमा भर्ना गरिएको हो। खड्कालाई बान्ता तथा पखालाको समस्या देखिएको थियो, जसका कारण उनी शारीरिक रूपमा कमजोर भएका थिए। अस्पतालका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
आवश्यक उपचारपछि कमजोरी हट्दै गएको र अन्य कुनै जटिल समस्या नदेखिएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालले दुबै नेताको स्वास्थ्य अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। चिकित्सकहरूको टोलीले निरन्तर परीक्षण र उपचार गरिरहेको छ भने आवश्यक परे थप विशेषज्ञको सल्लाह पनि लिइने बताइएको छ। पक्राउ परेका उच्चस्तरीय नेताहरूको स्वास्थ्य अवस्थाले राजनीतिक वृत्तमा समेत चासो बढाएको छ। दुवै नेताको उपचार र स्वास्थ्य सुधारको अवस्थालाई लिएर सम्बन्धित निकाय तथा समर्थकहरू चासोपूर्वक प्रतीक्षा गरिरहेका छन्।











प्रतिक्रिया