पुरातात्विक महत्वको पेनिङ माने

564
Shares

रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका–२, नेसिङमा अवस्थित पेनिङ माने मानिसले बनाएको मानिदैन । कुनै मानिस बितेपछि उसको सम्झनास्वरूप वनाएको माने पनि होइन भनिन्छ । यो त पद्मसम्भव हिँडेर पृथ्वी घुमेको समयमा बसेको ठाउँ हो । यो स्थान सुरक्षित लागेर यहाँ पद्मसम्भवले ध्यान–तपस्या गरेको भनिन्छ ।

अहिले पो सडक बन्यो, मानिसहरू आधुनिक बने, शहरमा बसोबास गर्न थाले । अनि बिस्तारै यस्ता इतिहास बोकेका मानेहरू बिर्संदै गए । बौद्धधर्मसँग सम्बन्धित यस्ता महत्वपूर्ण ठाउँहरू रसुवा जिल्लामा धेरै छन् ।

ऐतिहासिक र पुरातात्विक महत्व बोकेको यस मानेका बारेमा खोजी गर्नु आवश्यक छ । पेनिङ माने, गुफा ८ औँ शताब्दीको रहेको र यसको इतिहास एवं महत्वका कारण यस स्थललाई धार्मिक पर्यटकीय स्थल बनाउन सकिने सम्भावना रहेको छ ।

सानो हाकुका रोनस तामाङ भन्छन्, ‘पहिले मान्छे र भगवान् बोल्ने समयमा गुरु रेम्बोच्छे अर्थात् गुरु पद्मसम्भवले ध्यान गरेर बस्ने पवित्र ठाउँ हो यो । बौद्धधर्मअनुसार गुरु रेम्बोच्छेले नेपालको हिमाली क्षेत्र र तिब्बतमा हिमाली बौद्ध परम्परा वज्रयानतन्त्रको विकास गराएका थिए ।

यो ठाउँ पवित्र स्थल भएकै कारण जो–कोही पुग्न सक्दैनन् । हिमाली जिल्ला भए पनि यहाँका ठूला–ठूला चट्टान र पहाडहरूमा दैवी शक्ति र इतिहास बोकेका कुरा पाइन्छ, जसले गर्दा यस भेगका मानिसहरू इमानदार हुन्छन् भनिन्छ । नेसिङ गाउँ र पुराना कुराहरुका बारेमा प्रायः मानिसलाई थाहा छैन ।

स्थानीय सरकारले यसको थप इतिहास बुझेर प्रचारप्रसार गरी धार्मिक पर्यटकीय क्षेत्र बनाउन पहल गर्नुपर्ने खाँचो छ । सडकको निर्माणभन्दा पनि हाइकिङको लागि राम्रो हुने रोनस तामाङ वताउनुहुन्छ । आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ भन्नुहुन्छ, ‘मेरो आफ्नो तर्फबाट र पालिकाको तर्फबाट आवश्यक पहल गरिरहेका छौँ ।’ आफ्नै गाउँ–ठाउँको यस्तो धार्मिक, एतिहासिक आस्था बोकेको स्थललाई पर्यटकीय गन्तव्य बनाउन आफ्नो पनि योगदान रहने वडाध्यक्ष लाक्पाकामी तामाङ बताउनुहुन्छ ।