बागमतीस्तरीय कृषि प्रदर्शनीको समापन

470
Shares

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी गत सोमबार सम्पन्न भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा विनियोजित बजेट हेटौंडा उपमहानगरपालिका कार्यालयमार्फत कार्यान्वयन हुने गरी प्रदर्शनी आयोजना गरिएको थियो ।

प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री मधुसूदन पौडेलले गर्नुभएको थियो । चैत १३ गतेदेखि १६ गतेसम्म चलेको प्रदर्शनीमा ४० वटा स्टलहरुमा विभिन्न कृषिउपज, कृषि परिकार तथा कृषि प्रविधिका सामानहरु प्रदर्शन तथा बिक्री गरिएका थिए ।

बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री पौडेलले उद्योग, वाणिज्य र कृषि क्षेत्रबीच अन्योन्न्याश्रित सम्बन्ध रहेको, अधिकांश उद्योगको कच्चापदार्थ कृषिक्षेत्रबाट प्राप्त हुने, कृषि जीवन र सभ्यताको मूल रहेको, परम्परागत कृषिमा सीमित नभई प्रतिस्पर्धी उत्पादनमा जानुपर्नेजस्ता धारणा राख्नुभएको थियो ।

उहाँले सीमापारिका किसानको उत्पादनसँंग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहेकोले सस्तो र गुणस्तरीय उत्पादन बढाउनुपर्ने, तीन तहको सरकारले आफ्नो क्षेत्रका किसानले उत्पादन गरेको कृषिउपज खपत गर्ने नीति लिनुपर्नेजस्ता विचार व्यक्त गर्नुभएको थियो । बागमती प्रदेश सरकार बजेट बनाउन गइरहेकोले कृषिका महत्वपूर्ण सुझावहरु पेस गर्न उहाँले आह्वान गर्नुभएको थियो ।

हेटौंडा उपमहानगरपालिका प्रमुख मीना लामाले हेटौंडाका धेरै कृषकहरुको स्टल देख्दा उत्साहित भएको बताउनुभयो । उहाँले हेटौंडामा मेवा, ड्रागन फ्रुटको उच्च संख्यामा व्यावसायिक खेती शुरु भइसकेको, किसानलाई ५ सयवटा गाईभैंसी वितरण गरिसकेको, गुन्द्रुक उत्पादनका लागि किसानलाई सहायता गरेको, बाबरी र तुलसीको व्यावसायिक सम्भावना देखिएको, अब उद्योग वाणिज्य संघले किसानका उत्पादन बिक्री गर्ने वातावरण बनाइदिनुपर्ने बताउनुभयो । उहाँले किसानका उत्पादन बिक्रीको समेत उद्देश्य लिई कोसेली घर र पाँचतले भवन निर्माण गरिरहेको जस्ता भनाइ राख्नुभएको थियो ।

पशुसेवा कार्यालय हेटौंडाका प्रमुख डा. रामप्रकाश प्रधानले रैथाने कृषिउपजमा विदेशबाट आयातीत हाइब्रिडभन्दा धेरै गुणा बढी पोषक तत्व हुने, लोकल उत्पादन विश्वमै अत्यन्त स्वास्थ्यवद्र्धक रहेको, कृषिमा राज्यको बजेट ज्यादै न्यून रहेको, सबै जिम्मेवार पक्षहरु मिलेर कृषि विकासका योजना तयार गरी प्रभावकारी कार्यान्वयन जरुरी रहेको धारणा राख्नुभएको थियो ।

मउवा संघ अध्यक्ष प्रमोदसिंह रानाभाटले कृषि प्रदर्शनी कार्यक्रम दिएकोमा मन्त्रालय र हेटौंडा उपमहानगरपालिका कार्यालयलाई धन्यवाद दिँदै कृषकका उत्पादनलाई बिक्री तथा प्रचारप्रसारको उद्देश्यले प्रदर्शनी आयोजना गरेको बताउनुभएको थियो । मउवा संघ कृषि प्रवद्र्धन समिति संयोजक नीलमकुमारी पाण्डेले कृषि अर्थतन्त्रको मुख्य आधार रहेको, प्रदर्शनीले कृषिक्षेत्रमा भएका नवीन प्रविधि, आधुनिक उपकरण, उन्नत बाली प्रणाली तथा कृषकहरुको सीप र मेहनतलाई उजागर गर्ने एउटा महत्वपूर्ण मञ्च प्रदान गरेको, कृषकलाई नयाँ ज्ञान, सीप र प्रेरणा प्रदान हुने अवसर मिलेको, प्रदर्शनीमार्फत कृषक, उद्यमी, अनुसन्धानकर्ता र सरोकारवालाबीच अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त भएको बताउनुभएको थियो । कार्यक्रममा स्टल प्रदर्शकका तर्फबाट राष्ट्रिय कृषक समूह महासंघ नेपालका महानन्द सापकोटा र मउवा संघ महासचिव प्रतिमा श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।

समापन कार्यक्रममा स्टल प्रदर्शकहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । उत्कृष्ट स्टल प्रदर्शकमा रामेछापको तामाकोशी एग्रो एकेडेमी एन्ड रिसर्च सेन्टर प्रालि, सिन्धुलीको लाङ्घाली जुनार उद्योग, भीमफेदीको एके डेरी उद्योग, काठमाडौंको राष्ट्रिय कृषक समूह महासंघ नेपाल, मकवानपुरगढीको अपांग तथा विपन्न कृषि सहकारी संस्था र बुङ्दल सामुदायिक महिला बेसार उद्योगलाई नगद र सम्मानपत्र प्रदान गरिएको थियो ।