नेपालको समग्र विकास यात्रामा सुदूरपश्चिम प्रदेश लामो समयदेखि पछाडि परेको क्षेत्रका रूपमा चिनिदै आएको छ । भौगोलिक विकटता, सीमित पूर्वाधार, कमजोर स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाको अभावले यहाँको मानव विकास सूचकाङ्कसमेत न्यून रहँदै आएको यथार्थ छ । यस्तो अवस्थामा कैलालीको गेटामा प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने प्रक्रिया तीव्र बनाउने प्रधानमन्त्री बालेन्द्र साहको प्रतिबद्धता स्वागतयोग्य कदम हो ।
गत मंगलबार सुदूरपश्चिमका सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री साहले विश्वविद्यालय सञ्चालनलाई ‘फास्ट ट्रयाक’मा लैजाने संकेत दिँदै तत्कालै उपकुलपतिलाई बोलाएर अघि बढ्न निर्देशन दिनुभएको छ । लामो समयदेखि अलमलमा रहेको यो परियोजना अब कार्यान्वयनको दिशामा अघि बढ्ने अपेक्षा गरिएको छ । यसका लागि सांसद डा. आनन्दबहादुर चन्दले प्रस्तुत गरेको रणनीतिक प्रस्तावले पनि स्पष्ट देखाएको छ कि सुदूरपश्चिममा स्वास्थ्य र शिक्षा क्षेत्रको सुधार कति अपरिहार्य छ ।
सुदूरपश्चिम प्रदेशमा करिब ३४ प्रतिशत जनसंख्या गरिबी रेखामुनि रहेको तथ्यले यहाँको सामाजिक–आर्थिक अवस्था झल्काउँछ । विद्यालय छाड्ने दर उच्च छ भने दक्ष जनशक्ति ठूलो संख्यामा विदेश पलायन भइरहेको छ । यस्तो अवस्थामा स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना केवल शैक्षिक संस्था निर्माण मात्र होइन, यो मानव पूँजी विकासको आधार तयार गर्ने ऐतिहासिक अवसर हो ।
यो विश्वविद्यालय सञ्चालनमा आएपछि यस क्षेत्रका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने मात्र होइन, स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन हुने अपेक्षा गरिएको छ । अहिले पनि सुदूरपश्चिम चिकित्सा शिक्षाको पहुँचबाट वञ्चित प्रदेशको रूपमा चिनिन्छ । त्यसैले यो विश्वविद्यालयले स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना, वैदेशिक पलायन न्यूनीकरण र क्षेत्रीय अर्थतन्त्र सुदृढीकरणमा बहुआयामिक प्रभाव पार्नेछ ।
राज्यले दीर्घकालीन विकासका लागि मानव पूँजीमा लगानी गर्नु आवश्यक हुन्छ भन्ने सिद्धान्तलाई यस कदमले पुष्टि गरेको छ । तर केवल घोषणा र प्रतिबद्धताले मात्र विकास सम्भव हुँदैन । नेपालमा धेरै परियोजनाहरू योजना तहमा सीमित हुने र कार्यान्वयनमा ढिलाइ हुने पुरानो प्रवृत्ति अझै कायम छ । त्यसैले अबको मुख्य चुनौती भनेको प्रभावकारी कार्यान्वयन हो । विश्वविद्यालयका लागि प्रस्ताव गरिएको बजेट, पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र प्रशासनिक संरचना समयमै तयार गर्न सकिएन भने यो योजना पनि अन्य योजनाजस्तै अलपत्र पर्न सक्छ ।
सरकारले यस परियोजनालाई सफल बनाउन केही महत्वपूर्ण पक्षमा ध्यान दिन आवश्यक छ । पहिलो, स्पष्ट कार्ययोजना र समयसीमा निर्धारण गरी त्यसको कडाइका साथ अनुगमन गर्नुपर्छ । दोस्रो, विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखी दक्ष र योग्य नेतृत्व चयन गर्नुपर्छ । तेस्रो, स्थानीय समुदाय, प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य गर्दै दिगो मोडेल विकास गर्नुपर्छ । शिक्षा र स्वास्थ्य क्षेत्रलाई समग्र विकाससँग जोडेर हेर्नु आवश्यक छ । सडक, पूर्वाधार, सीप विकास, रोजगारी सिर्जनाजस्ता क्षेत्रसँग समन्वय गरेर अघि बढेमा मात्र सुदूरपश्चिमको वास्तविक रूपान्तरण सम्भव हुनेछ ।
सुदूरपश्चिमको विकास केवल क्षेत्रीय मुद्दा होइन, यो राष्ट्रिय दायित्व हो । स्वास्थ्य र शिक्षामा गरिएको लगानीले दीर्घकालमा देशको समग्र समृद्धिमा योगदान पु¥याउँछ । प्रधानमन्त्री साहको पहलले सही दिशा संकेत गरेको छ । अब आवश्यक छ– त्यसलाई निरन्तरता, प्रतिबद्धता र परिणाममा रूपान्तरण गर्ने दृढ इच्छाशक्ति । देशमा उत्पादन भएका चिकित्सकहरुलाई गुणस्तरीय शिक्षाको सही सदुपयोगका लागि देशमै टिकाउने नीति ल्याउनुपर्छ । यसका लागि नेपाललाई मेडिकल टुरिजम हबका रुपमा विकास गरी अघि बढ्नु जरुरी छ ।











प्रतिक्रिया