एमाले संसदीय दलको नेता र कावा अध्यक्ष दुवैमा बादल


काठमाडौं ।

नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध चयन हुनुभएको छ । साथै उहाँलाई पार्टी अध्यक्ष केपी शर्मा हिरासतमुक्त नहुँदासम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत दिइएको छ ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले जानकारी दिनुभयो । बादल समानुपातिकतर्फबाट निर्वाचित सांसद हुनुहुन्छ ।
दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेको भए पनि अन्तिममा फिर्ता लिनुभयो । एमालेले प्रत्यक्षमा ९, समानुपातिकबाट १६ सिट जितेर प्रतिनिधिसभाको तेस्रो दल बनेको छ ।

बुधबार च्यासलमा पार्टी पदाधिकारीसहित संसदीय दलको संयुक्त बैठकमा अध्यक्ष ओलीबाट बादललाई जिम्मेवारी तोकेको जानकारी गराइएको सांसद ऐन महरले जानकारी दिनुभयो । ओली हिरासतमुक्त नभएसम्मका लागि बादल कार्यवाहक अध्यक्ष रहने महरले बताउनुभयो ।