काठमाडौं ।
मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्रप्रसाद राव कुर्मीससहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । एकै नम्बरका दोहोरो, तेहेरो रजिस्ट्रेसन नम्बर राखी एकभन्दा बढी लिखत पारित गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ ।
साथै रजिस्ट्रेसन लिखत दर्ता किताबमा प्रविष्टि भएका एकै दर्ता नम्बर कायम भएका दोहोरो÷तेहेरो लिखतहरूबाट प्राप्त राजस्व रकम लेखा फाँटमा समेत नबुझाएको पाइएको अभियोगपत्रमा उल्लेख छ ।
राजस्वबापतको २ करोड ९३ लाख ६८ हजार ५ सय ६५ रुपियाँ राजस्व हिनामिना भएको अभियोगपत्रमा उल्लेख छ । आयोगले मालपोत अधिकृतहरूका साथै तत्कालीन नायब सुब्बा स्वर्गीय किरानाप्रसाद उपाध्यायको हकमा उनका अंशियार छोराहरू राजकिशोरप्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय, पशुपतिप्रसाद उपाध्याय र मुरारीप्रसाद उपाध्यायलाई पनि प्रतिवादी कायम गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।











प्रतिक्रिया