गेटा विश्वविद्यालयलाई रणनीतिक योजनामा राख्न सरकार सकारात्मक

658
Shares

काठमाडौं ।

कैलाली क्षेत्र नम्बर ५ का सांसद डा. आनन्दबहादुर चन्दले कैलालीको गेटामा स्थापना हुन लागेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई राष्ट्रिय रणनीतिक योजनामा समेट्दै पर्याप्त बजेट विनियोजन गर्न सरकारसमक्ष औपचारिक प्रस्ताव पेस गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भएको छलफलका क्रममा उहाँले ‘नीति प्रस्ताव’ प्रस्तुत गर्दै उक्त विश्वविद्यालयको दीर्घकालीन महत्वबारे प्रकाश पार्नुभएको हो ।

सांसद चन्दका अनुसार गेटामा निर्माणाधीन उक्त विश्वविद्यालयले सुदूरपश्चिममात्र नभई समग्र देशकै स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ । उहाँले भन्नुभयो– ‘यो विश्वविद्यालय सञ्चालनमा आएपछि स्वास्थ्य सेवा पहुँच विस्तार हुनेछ, दक्ष जनशक्ति उत्पादन हुनेछ, वैदेशिक पलायन न्यूनीकरणमा मद्दत पुग्नेछ र क्षेत्रीय अर्थतन्त्र सुदृढ हुनेछ ।’ उहाँले विशेषगरी सुदूरपश्चिममा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावलाई समाधान गर्न यो परियोजना अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेश विगतदेखि विकासका हिसाबले पछि परेको र हालसम्म चिकित्सा शिक्षा अध्ययन÷अध्यापन नहुने एकमात्र प्रदेश रहेको उल्लेख गर्नुभयो । त्यसैले गेटामा विश्वविद्यालय स्थापना हुनु केवल शैक्षिक परियोजना नभई क्षेत्रीय समानता कायम गर्ने महत्वपूर्ण कदम हुने उहाँको भनाइ छ ।

यसैबीच, सुदूरपश्चिमका विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री बालेन साहले उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिनुभएको छ । उहाँले गेटा परियोजनालाई प्राथमिकतामा राखेर आवश्यक निर्णय लिन सरकार तयार रहेको संकेत गर्नुभयो । ‘गेटाको विषयमा अहिले हस्ताक्षर गर्नुपरे पनि तयार छु, कहिले गरौँ ?’ भन्ने उहाँको अभिव्यक्तिले परियोजनाप्रति सरकारको प्रतिबद्धता देखिएको छ ।

सांसद चन्दले आफ्नो नीति प्रस्तावमा चारवटा प्राथमिक लगानी क्षेत्र निर्धारण गर्नुभएको छ । पहिलो प्राथमिकतामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि २ अर्ब ५८ करोड विनियोजन गर्नुपर्ने माग गरिएको छ । दोस्रोमा विकास संस्थाका लागि १० करोड, तेस्रोमा फाप्ला क्रिकेट मैदान निर्माणका लागि ४ अर्ब र चौथोमा सिकलसेल परीक्षण कार्यक्रमका लागि २ करोड बजेट प्रस्ताव गरिएको छ ।

फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना पनि प्रस्तावमा समेटिएको छ, जसले खेलकुद पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, सिकलसेल परीक्षण कार्यक्रममार्फत सुदूरपश्चिममा स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ ।

सुदूरपश्चिमका अन्य सांसदहरूले पनि गेटा विश्वविद्यालयको रणनीतिक महत्वबारे एकमत व्यक्त गरेका छन् । उनीहरूले यस परियोजनाले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने, स्वास्थ्य सेवा सुलभ बनाउने र युवाहरूलाई देशमै अवसर उपलब्ध गराउने बताएका छन् । साथै, चिकित्सा शिक्षा अध्ययनका लागि राजधानी वा विदेश जानुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गरिएको छ ।

विशेषज्ञहरूका अनुसार गेटा विश्वविद्यालय सञ्चालनमा आएपछि सुदूरपश्चिममा मेडिकल शिक्षा, अनुसन्धान तथा उपचार सेवा एकै स्थानमा उपलब्ध हुनेछ । यसले दीर्घकालीन रूपमा क्षेत्रीय असमानता घटाउन मद्दत पु¥याउनेछ । समग्रमा, सांसद डा. आनन्दबहादुर चन्दद्वारा प्रस्तुत नीति प्रस्तावले सुदूरपश्चिमको विकासलाई नयाँ दिशा दिन सक्ने देखिएको छ । अब सरकारको प्राथमिकता र बजेट विनियोजनमा उक्त प्रस्ताव कसरी समेटिन्छ भन्ने विषय महत्वपूर्ण बनेको छ ।
यो प्रस्तावउपर छलफल भएलगत्तै प्रधानमन्त्री साहले गेटाका उपकुलपतिलाई बोलाई थप छलफल गरी अघिबढ्न निर्देशन दिनुभएको स्रोतले जनाएको छ ।