काठमाडौं ।
प्रतिनिधिसभाको सभामुखमा सांसद डोलप्रसाद (डीपी) अर्याल निर्वाचित हुने निश्चित भएको छ ।
प्रतिनिधिसभामा लगभग दुई तिहाइ बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको समर्थनबाट सभामुखमा अर्याल निर्वाचित हुने निश्चित भएको हो । सभामुखको निर्वाचन यही चैत्र २२ गते हुनेछ । बुधबार बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको थियो । मनोनयन दर्ता भने भोलि शुक्रवार तय गरिएको छ ।
सभामुख बन्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिसँगै साधारण सदस्य नरहने गरी अर्यालले राजीनामा दिइसक्नुभएको छ । राजनीतिक सुझबुझ, समन्वयकारी भूमिका र संवैधानिक प्रक्रिया बुझेको अनुभवी व्यक्ति भएकाले अर्यालको विकल्प नभएको रास्वपाका एक पदाधिकारीले बताए ।
संसद्को पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनमा सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुख फरक लिङ्ग र दलबाट हुनुपर्ने व्यवस्था छ ।
उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खुश्बु ओलीको नाम सामाजिक सञ्जालमा चर्चामा ल्याइएको छ । तर, संसद्को अघिल्लो कार्यकालमा पार्टी नेतृत्वको प्रतिरक्षा गरेको, निर्वाचन गराउन सकारात्मक भूमिका खेलेको, एजेन्डाको हिसाबले पनि नजिक रहेको दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रहेको छ । सोही दललाई उपसभामुख पद दिन रास्वपाको कतिपय नेता सकारात्मक देखिएका छन् । नेकपालाई उपसभामुख दिँदा संविधान संशोधनमा समन्वयकारी भूमिका खेल्न सहज हुने उनीहरूको बुझाइ छ ।
यदि, नेकपालाई उपसभामुख दिन रास्वपा सहमत भयो भने उसले सम्भवतः बलावती शर्मालाई अगाडि सार्नेछ । शर्मा नेकपा नेता देवेन्द्र पौडेलकी श्रीमतीसमेत हुनुहुन्छ । अर्याललाई सभामुखमा अगाडि सारेपछि उपसभामुखका लागि महिला नै चाहिन्छ । नेकपामा चार जना महिला सांसदहरूमा शर्मालगायत भीमकुमारी बुढा, पार्वती विक र निराशा चौधरी हुनुहुन्छ ।











प्रतिक्रिया