आजबाट एसईई : ५ लाख १० हजार परीक्षार्थी सामेल हुँदै


काठमाडौं ।

यो वर्षको एसईई परीक्षा आज बिहीबारबाट सुरु हुँदै छ । परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सामेल हुँदै छन् । २ लाख ५७ हजार ५ सय २७ छात्रा र २ लाख ५२ हजार ४ सय ३४ छात्र छन् । परीक्षामा छात्राको संख्या बढी छ । १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा हँुदै छ ।

जापानको एकसमेत गरी २ हजार ८० केन्द्र कायम गरिएको थियो । गतवर्षको तुलनामा यो वर्ष ११४ केन्द्र घटेको छ । परीक्षामा करिब ३० हजार सुरक्षाकर्मीसहित ७५ हजार कर्मचारी परिचालन हुनेछन् । बिहान ८ बजेबाट सञ्चालन हुने परीक्षामा फरक क्षमता भएका परीक्षार्थीलाई अवस्था हेरेर थप डेढघण्टा समय थप गरिएको छ ।

परीक्षाका जिल्ला शिक्षा समन्वय इकाइ र प्रदेश सरकारको मातहतमा रहेको प्रदेश परीक्षा बोर्डका अधिकारीले मात्र अनुगमन गर्नेछन् । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । २० गते अनिवार्य नेपाली, २२ मा अनिवार्य गणित, २३ चैतमा संस्कृति तथा वेद विद्याश्रमतर्फका विषयको परीक्षा सञ्चालन हुनेछ ।

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन बोर्डले सबैलाई आग्रह गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीले परीक्षामा कानुनविपरीत काम गर्नेलाई शिक्षा नियमावलीअनुसार कारबाही गर्ने जानकारी दिनुभयो । परीक्षाको अनुगमन जिल्ला शिक्षा समन्वय इकाइ र प्रदेश परीक्षा बोर्डले गर्नेछ । यो वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण हुनेछ ।