–सरकारको कानुनी उपस्थिति खै ?
–पाँच वर्षसम्म कैद, एक लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने
काठमाडौं ।
लोकतन्त्रमा आफ्नो विचार राख्न पाउनु नागरिकको आधारभूत अधिकार हो । तर, अहिले मुलुकमा फरक विचार राख्ने साहस गर्ने नागरिकमाथि सामाजिक सञ्जालमार्फत बलात्कार, आगजनी र ज्यान मार्ने धम्की दिनेसम्मको विकृत र हिंस्रक प्रवृत्ति मौलाउन थालेको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ गरिएको विरोधमा सडकमा उत्रिएकी २० वर्षीया अमिशा पराजुलीमाथि सामाजिक सञ्जालमा यौनहिंसा र बलात्कारसम्मको धम्की आएपछि नेपालमा डिजिटल हिंसा कति भयावह बन्दै गएको छ भन्ने गम्भीर प्रश्न उठेको छ ।
अमिशाले सडक प्रदर्शनमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो तर उहाँले बोलेका शब्दको प्रतिवाद तर्कले होइन, हजारौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले अश्लील गाली, चरित्रहत्या, बलात्कारको धम्की, घर जलाइदिने चेतावनी र अमानवीय ट्रोलमार्फत गरे ।
उहाँका भिडिओ क्लिपहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलाइए । त्यसपछि ‘बलात्कार गरिदिन्छु’, ‘घरमा आगो लगाइदिन्छु’, ‘जहाँ भेटे पनि छाड्दिनँ’ जस्ता धम्कीपूर्ण टिप्पणीहरूको ओइरो लाग्यो । कतिपयले उहाँको तस्बिर र भिडिओ प्रयोग गरी अपमानजनक सामग्री बनाउँदै सार्वजनिक रूपमा चरित्रहत्या गर्ने प्रयाससमेत गरे ।
यो केवल एक युवतीमाथिको हमला होइन, यो लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रतामाथिको खुला आक्रमण हो । आज अमिशा निशानामा पर्नुभएको छ भोलि फरक विचार राख्ने जो कोही पनि यस्तै हिंसाको सिकार हुन सक्छ ।
महिला र किशोरीमाथि डिजिटल हिंसाको बढ्दो शृंखला
अमिशा एक्ली होइनन् । नेपालमा सामाजिक सञ्जालमार्फत महिला, किशोरी र फरक विचार राख्ने व्यक्तिमाथि हुने डिजिटल हिंसाका घटना पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढिरहेका छन् । केही दिनअघि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङविरुद्ध पनि घर जलाइदिने र जे पनि गर्नेसम्मको धम्की सञ्जालमा आएको थियो । साम्पाङले त्यसविरुद्ध उजुरी दिनुभएको थियो ।
केही समयअघि सामाजिक सञ्जालमा ‘झापा–५ मा बालेन शाहले चुनाव जिते कान काटिदिन्छु’ भन्ने अभिव्यक्ति दिएकी रेणुका बरालमाथि पनि लामो समयसम्म निरन्तर गाली, ट्रोल र धम्कीको वर्षा भएको थियो । बालेन शाहले चुनाव जितेपछि उहाँलाई ‘किन कान नकाटेको ?’ भन्दै सामाजिक सञ्जालमा पछ्याउने र सार्वजनिक रूपमा अपमानित गर्ने काम हप्तौंसम्म चल्यो ।
विशेषगरी महिलाले कुनै राजनीतिक, सामाजिक वा सार्वजनिक विषयमा अभिव्यक्ति राखेपछि उनीहरूलाई विचारका आधारमा होइन, शरीर, चरित्र र यौनिकतामाथि प्रहार गरेर चुप लगाउने प्रवृत्ति बढेको देखिन्छ । सामाजिक अभियन्ताहरूका अनुसार यो केवल गालीगलौज होइन, महिलालाई सार्वजनिक जीवनबाट हटाउन खोज्ने संगठित मनोवैज्ञानिक हिंसा हो ।
समाज किन यति हिंस्रक बन्दै छ ?
समाजशास्त्रीहरूका अनुसार सामाजिक सञ्जालमा बढ्दो हिंसा र अराजकताले नेपाली समाजको नैतिक संरचना कमजोर बन्दै गएको संकेत गर्छ ।
उनीहरू भन्छन्– परिवार, विद्यालय र समाजले सहिष्णुता, फरक विचारको सम्मान र लोकतान्त्रिक संस्कार सिकाउन नसक्दा नयाँ पुस्तामा असहमति सहन नसक्ने र हिंस्रक प्रतिक्रिया दिने प्रवृत्ति बढ्दै गएको छ । अहिले सामाजिक सञ्जाल धेरैका लागि विचार आदानप्रदान गर्ने माध्यमभन्दा बढी गाली गर्ने, घृणा फैलाउने र कमजोर ठानेकालाई सार्वजनिक रूपमा अपमानित गर्ने ‘हथियार’ जस्तो बन्दै गएको छ ।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार विद्युतीय माध्यमबाट कसैलाई हैरान पार्ने, अपमान गर्ने, धम्की दिने वा अमर्यादित व्यवहार गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद, एक लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।
‘डराएर चुप लाग्दिनँ, कारबाही गराएरै छोड्छु’
लगातार धम्की र गालीपछि अमिशाले बुधबार साइबर ब्युरोमा औपचारिक उजुरी दिनुभएको छ । उहाँले आफूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गाली गर्ने, बलात्कार र हिंसाको धम्की दिने व्यक्तिहरूको फेसबुक, टिकटक, युट्युब र अन्य सामाजिक सञ्जालका विवरण तथा मोबाइल नम्बर संकलन गरिरहेको बताउनुभएको छ ।
‘मलाई गाली गर्नेहरूबाट म डराएकी छैन’, अमिशाले भन्न्नुभयो– ‘तर यस्तो अपराध गर्नेहरूलाई कानुनको कठघरामा उभ्याउनुपर्छ । आज ममाथि भएको छ, भोलि अर्को युवतीमाथि नहोस् भनेर म अन्तिमसम्म कानुनी लडाइँ लड्छु ।’
भक्तपुरकी अमिशा विगत दुई वर्षदेखि सडकमा आफ्ना आवाज उठाउँदै आइरहनुभएको छ ।
उहाँ भ्रष्टाचारविरुद्धका अभियान र विभिन्न सार्वजनिक मुद्दामा सहभागी हुँदै आइरहनुभएको छ । उहाँले आफू कुनै राजनीतिक दलको सदस्य नभए पनि आफूलाई सही लागेको विषयमा बोल्ने अधिकार प्रयोग गरेको बताउनुभयो । ‘आफूलाई सही लागेको कुरा बोल्नु मेरो संवैधानिक अधिकार हो’, उहाँले भन्नुभयो– ‘तर यहाँ फरक मत राख्यो भने महिलालाई गाली गर्ने, यौनहिंसाको धम्की दिने, चरित्रहत्या गर्ने प्रवृत्ति बढेको छ । यो अत्यन्त खतरनाक अवस्था हो ।’











प्रतिक्रिया