–माइक्रो इन्स्योरेन्सको ३ अर्ब ७३ करोड अपचलन
काठमाडौं ।
नेपालको अर्थतन्त्रमा राजनीतिक अस्थिरता, कमजोर नियामक संरचना र दलगत निर्भरताको फाइदा उठाउँदै आएको बिचौलिया समूह लामो समयपछि कानुनी दायरामा आएको छ । अध्ययगमन विभागले ‘प्रिपेड ग्रुप’ का नामबाट कुख्याती कमाएको समूहका व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राख्दै राहदानी रोक्का गरेसँगै कानुनी दायरामा आएका हुन् । सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा अध्यागमन विभागले भट्टको राहदानी रोक्का गरेको हो ।
यो ग्रुपले ‘लाइसेन्स राज’, सिन्डिकेट र नीतिगत भ्रष्टाचारको साम्राज्य खडा गरेको छ । विवादास्पद बिचौलिया भट्टलाई कानुनी दायरामा ल्याउने प्रक्रिया थालनी भए पनि उनका साझेदार शंकर समूहका सुलभ अग्रवाल, साहिल अग्रवाल र उनीहरुका परिवारले भने अझै उन्मुक्ति पाएका छन् । उच्च स्रोतका अनुसार विभागले कालोसूचीमा राखेर राहदानी रोक्का राखे पनि दुवै परिवार अहिले विदेशमा रहेको जनाइएको छ ।
भट्ट र अग्रवाल गठबन्धनले पब्लिक लिमिटेड कम्पनीहरूको पैसा दुरुपयोग गरी सेयर बजार कब्जा गर्नेदेखि बीमा, जलविद्युत्, बजेट, कर नीति र नियामक निकायसम्म आफ्नो प्रभुत्व स्थापित गर्दै आएको थियो । ‘क्याप्चर इकोनोमी’ अर्थात् नेपालको अर्थतन्त्र कब्जा गर्न सत्ता र शक्तिको दुरुपयोग गर्दै आएको सो समूहले लामो समयदेखि आर्थिक क्षेत्रमा नाङ्गो नाच प्रदर्शन गरिरहेको थियो । अघिल्ला कुनै पनि सरकारले अनुसन्धानसमेत गर्ने आँट नगरेको यस समूह नयाँ सरकारको गठनसँगै ‘सर्भिलेन्स’मा परेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिन अनुसार, भट्ट र उनको समूहले हिमालयन रि–इन्स्योरेन्स, हिमालयन सेक्युरिटिज बैंकर, हिमालयन लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स जस्ता पब्लिक कम्पनीबाट ३ अर्ब ७३ करोड रुपियाँ भृकुटी स्टक ब्रोकरलाई एड्भान्स दिएको देखिएको छ । यो रकमको मुख्य उद्देश्य नेपाल रि–इन्स्योरेन्सको २० लाख कित्ता सेयर २ अर्ब ८९ करोड रुपियाँ बराबर दीपक भट्टकै नाममा खरिद भएको छ ।
त्यस्तै ६२ करोड रुपियाँ सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवालको खातामार्फत दीपक भट्टको खातामा ट्रान्सफर भएको छ भने २३ करोड रुपियाँ ऋषिराज मोर (मोर परिवार) लाई दिइएको छ । भृकुटी स्टक ब्रोकर (हिमालयन लाइफ इन्स्योरेन्सका पूर्व सीईओ मनोजकुमार लाल कर्णकी श्रीमतीको कम्पनी) यसको केन्द्रबिन्दु बनेको छ । यो प्रकरणले पब्लिक कम्पनीको पैसा कसरी निजी बिचौलियाको सेयर साम्राज्य निर्माणमा प्रयोग भइरहेको छ भन्ने दिशा निर्देश गरेको छ ।
भट्ट केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका सबै प्रमुख दलका नेतासँगको निकट सम्बन्धका कारण ‘प्रिपेड ग्रुप’को मुख्य योजनाकार मानिन्छन् । हरेक राजनीतिक दलका नेतृत्वसँग नजिकको सम्बन्ध राख्ने विचौलियाका रुपमा परिचित भट्टकै फेरो समाएर व्यापारिक समूह शंकर ग्रुप र त्यसका सञ्चालक सुलभ अग्रवालले पुनर्बीमादेखि जीवन, निर्जीवन र लघु बीमा कम्पनीसम्मका लाइसेन्स सहजै हात पारे व्यापरिक क्षेत्रमा ‘प्रिपेड ग्रुप’को नामले यो समूह परिचित भएको हो ।
नेपालको बजारहरू प्रतिस्पर्धाले होइन, सम्झौता र गठबन्धनले चल्छन् । वस्तुका मूल्य लागतले होइन, कारोबारी मिलेमतोले निर्धारण हुन्छन् । हाम्रा नियामकहरू कानुनले होइन, फोन कल र सन्देशले चल्छन् । यति व्यापक सिन्डिकेट रहेको अर्थतन्त्रमा उपभोक्ता स्वतन्त्रताको को त के कुरा व्यावसायिक स्वतन्त्रता पनि सम्भव रहेको सन्दर्भमा व्यावसायिक क्षेत्र विचौलियाको राजगज र लाइसेन्स राजको नेतृत्व दीपक भट्ट र सुलभ अग्रवाल ग्याङले चलाउँदै आएको थियो ।











प्रतिक्रिया