विश्व फुटबलको महाकुम्भ ‘फिफा विश्वकप २०२६’ को माहोलले यतिबेला विश्वलाई नै एउटा छुट्टै रौनकमा डुबाएको छ । अमेरिका, क्यानाडा र मेक्सिकोको संयुक्त आयोजनामा हुने यस ऐतिहासिक संस्करणमा पहिलोपटक ४८ टोलीहरूले प्रतिस्पर्धा गर्दैछन् । जसले यसलाई अहिलेसम्मकै ठूलो र भव्य फुटबल उत्सव बनाउने निश्चित छ । छनोटका रोमाञ्चक मोडहरू, अन्तिम मिनेटका गोलहरू र केही अप्रत्याशित नतिजाहरूका साथ विश्वका सबै ४८ टोलीहरूको टुंगो लागिसकेको छ । अफ्रिकादेखि दक्षिण अमेरिकासम्म र एसियादेखि युरोपका मैदानहरूमा पसिना बगाउँदै टोलीहरूले आफ्नो स्थान सुरक्षित गरेका छन् । ती केवल छनोटका खेलहरू मात्र थिएन, ती त राष्ट्रिय गौरव र करोडौँ प्रशंसकहरूको सपनाको लडाइँ थियो । जहाँ केही दिग्गजहरूले पुनरागमन गरे भने केही साना राष्ट्रहरूले इतिहास रचेर विश्वभरि सनसनी मच्चाए ।
अफ्रिकी महादेशबाट यसपटक १० टोलीले विश्वकपको टिकट काटेका छन् । जसमा इजिप्ट र मोरोक्को जस्ता सशक्त राष्ट्र अगाडि छन् । मोहम्मद सलाहको नेतृत्वमा इजिप्टले जिबूतीलाई ३–० ले हराउँदै कतार विश्वकपमा पुग्न नसकेको पीडालाई भुलाएर चौथो पटक छनोट भयो । रोचक कुरा के छ भने, इजिप्ट सन् १९३० को पहिलो विश्वकपका लागि पनि छनोट भएको थियो । तर, फ्रान्सबाट हिँडेको जहाज आँधीका कारण छुटेपछि उनीहरू खेल्न जान पाएका थिएनन् । गत विश्वकपको सेमिफाइनलिस्ट मोरोक्कोले भने नाइजरलाई ५–० को विशाल अन्तरले पछार्दै सबैभन्दा पहिले छनोट हुने अफ्रिकी राष्ट्र बन्यो । ट्युनिसिया र अल्जेरियाले पनि आफ्नो दबदबा कायम राख्दै विश्वकपमा स्थान बनाएका छन् भने घानाले कोमोरोसलाई हराउँदै पाँचौँ पटक विश्वकप यात्रा तय ग¥यो । यसपटक केप भर्डेले इतिहासमै पहिलो पटक विश्वकपमा डेब्यु गर्दैछ । जुन जनसंख्याको हिसाबले आइसल्याण्डपछिको दोस्रो सानो राष्ट्र हो । दक्षिण अफ्रिकाले पनि २०१० पछि पहिलो पटक पुनरागमन गरेको छ भने सेनेगल र कोटे डी आइभोरीले सानदार खेल प्रदर्शन गर्दै आफ्नो स्थान पक्का गरे । अन्तिम समयमा प्रजातान्त्रिक गणतन्त्र कंगोले नाटकीय प्लेअफ जित्दै सन् १९७४ पछि पहिलो पटक विश्वकप खेल्ने अवसर पाएको छ ।
एसियाली महादेशबाट ९ टोलीहरूले उत्तर अमेरिकाको यात्रा तय गरेका छन् । अस्ट्रेलियाले साउदी अरबलाई पराजित गर्दै सानदार पुनरागमन ग¥यो भने जापानले तीन खेल बाँकी छँदै लगातार आठौँ पटक विश्वकपमा स्थान सुरक्षित ग¥यो । दक्षिण कोरियाले पनि ११औँ पटक लगातार विश्वकप खेल्ने कीर्तिमान बनाउँदै छ । जुन टोटनह्यामका स्टार सन ह्युङ–मिनको सम्भवतः अन्तिम विश्वकप हुनेछ । जोर्डन र उज्वेकिस्तानका लागि यो विश्वकप विशेष हुनेछ । किनकि यी दुवै देशले पहिलो पटक विश्वकपको मुख्य प्रतियोगितामा पाइला टेक्दै छन् । जोर्डनको जितमा राजा अब्दुल्लाह द्वितीय आफैँ राष्ट्रिय जर्सी लगाएर खुसी मनाइरहेका देखिएका थिए । कतारले दोस्रो पटक सहभागिता जनाउँदै छ भने साउदी अरब र इराकले पनि लामो र कठिन छनोट यात्रा पार गर्दै आफ्नो स्थान सुरक्षित गरेका छन् । इराकले त २१ वटा छनोट खेल खेल्दै सन् १९८६ पछि पहिलो पटक विश्वकपको टिकट काटेको हो । यद्यपि, इरानको सहभागितामा भने राजनीतिक र सुरक्षाका कारण अझै केही अन्योलता बाँकी नै छ ।
युरोपेली फुटबल शक्तिको चर्चा भने छुट्टै छ । जहाँबाट १६ टोलीहरू छनोट भएका छन् । थोमस टुचेलको प्रशिक्षणमा रहेको इङ्ल्याण्डले लाट्भियालाई ५–० ले हराउँदै कुनै पनि गोल नखाई अपराजित रहँदै छनोट भयो । फ्रान्सले क्लियन एमबाप्पेको जादुमयी प्रदर्शनमा युक्रेनलाई हराउँदै आफ्नो स्थान पक्का ग¥यो भने ४० वर्षका लुका मोड्रिचको कप्तानीमा क्रोएसियाले फेरि एकपटक विश्वलाई चकित पा¥यो । पोर्चुगलले आर्मेनियालाई ९–१ को लज्जास्पद हार चखाउँदै क्रिस्टियानो रोनाल्डोलाई छैटौँ पटक विश्वकप खेल्ने ऐतिहासिक अवसर जुराएको छ । नर्वेका गोल मेसिन एर्लिङ हालान्डले ८ खेलमा १६ गोल गर्दै आफ्नो देशलाई सन् १९९८ पछि पहिलो पटक विश्वकपमा पु¥याएका छन् । जसले अमेरिकी प्रशंसकहरूमा ठूलो उत्साह जगाएको छ । जर्मनी, नेदरल्याण्ड्स, बेल्जियम, स्पेन र स्विट्जरल्याण्ड जस्ता पावरहाउसहरूले सजिलै छनोट पार गरे भने स्कटल्याण्डले २८ वर्षको लामो पर्खाइपछि नाटकीय जित निकाल्दै विश्वकपमा पुनरागमन ग¥यो । टर्की, स्वीडेन, चेक गणतन्त्र र बोस्निया–हर्जगोभिनाले भने कठिन प्लेअफ र पेनाल्टी सुटआउटको तनावलाई झेल्दै आफ्नो भाग्यको फैसला गरे ।
उत्तर र मध्य अमेरिका क्षेत्र (कोन्काकाफ) बाट आयोजकका रूपमा अमेरिका, क्यानाडा र मेक्सिको स्वतः छनोट भइसकेका छन् । यसबाहेक कुराकाओ, हैटी र पानामाले आश्चर्यजनक प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएका छन् । कुराकाओ केवल १ लाख ५६ हजार जनसंख्या भएको देश हो, जसले पहिलो पटक विश्वकपमा पुगेर संसारलाई अचम्ममा पारेको छ । ओसिनिया क्षेत्रबाट न्युजिल्याण्डले आफ्नो प्रभुत्व कायम राख्दै १६ वर्षपछि विश्वकपमा पुनरागमन गरेको छ ।
दक्षिण अमेरिका (कोन्मेबोल) को छनोट सधैँ झैँ निकै प्रतिस्पर्धात्मक रह्यो । सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिनाले लियोनेल मेसीले खेल्ने अनिश्चितताका बीच पनि सजिलै छनोट पार ग¥यो । इक्वेडर, कोलम्बिया र उरुग्वेले पनि सानदार प्रदर्शन गर्दै आफ्नो स्थान सुरक्षित गरे । मार्सेलो बिएल्साको प्रशिक्षणमा रहेको उरुग्वेले ब्राजिल र अर्जेन्टिना जस्ता टोलीलाई हराउँदै आफ्नो शक्ति प्रदर्शन ग¥यो । ब्राजिलका लागि भने यो छनोट यात्रा इतिहासकै कठिन रह्यो । जहाँ उनीहरू पाँचौँ स्थानमा रहँदै छनोट भए । तर, कार्लो एन्सेलोटीको नेतृत्वमा ब्राजिलले आफ्नो लय समात्ने विश्वास गरिएको छ । पाराग्वेले पनि सन् २०१० पछि पहिलो पटक विश्वकपमा पुनरागमन गर्दै आफ्ना प्रशंसकहरूलाई खुसी तुल्याएको छ । यसरी ४८ राष्ट्रहरूको यो विशाल जमघटले सन् २०२६ मा फुटबलको नयाँ अध्याय लेख्ने तयारी गरेको छ ।
महादेशीय आधारमा छनोट भएका राष्ट्रहरू :
आयोजक (३ राष्ट्र) : आयोजकका रूपमा अमेरिका, मेक्सिको र क्यानाडाले सिधै स्थान सुरक्षित गरेका छन् ।
एसिया (९ राष्ट्र) :
एसियाबाट यसपटक नौ टोलीहरू छनोट भएका छन् । जसमा जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, कतार र साउदी अरब जस्ता पावरहाउसहरू रहेका छन् । जोर्डन र उज्वेकिस्तानले पहिलोपटक विश्वकप खेल्ने अवसर पाउँदा इराकले अन्तरमहादेशीय प्लेअफ जितेर आफ्नो स्थान पक्का गरेको छ ।
अफ्रिका (१० राष्ट्र) :
अफ्रिकाबाट १० टोलीले विश्वकपको टिकट काटेका छन् । अल्जेरिया, केप भर्डे (काबो भर्डे), क्यामरुन, इजिप्ट, घाना, आइभोरी कोस्ट (कोटे डी आइभोरी), मोरोक्को, नाइजेरिया, सेनेगल, कंगो र दक्षिण अफ्रिका छन् । केप भर्डेले पहिलोपटक विश्वकप खेल्दैछ । त्यस्तै, प्रजातान्त्रिक गणतन्त्र कंगोले प्लेअफमार्फत स्थान सुरक्षित गरेको हो ।
युरोप (१६ राष्ट्र) :
युरोपबाट सधैँ झैँ कडा प्रतिस्पर्धाका बीच १६ टोली छानिएका छन् । अस्ट्रिया, बेल्जियम, बोस्निया एन्ड हर्जगोभिना, क्रोएसिया, चेक गणतन्त्र, इङ्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, नर्वे, पोर्चुगल, स्कटल्याण्ड, स्पेन, स्वीडेन, स्विट्जरल्याण्ड र टर्कीले यसपटक स्थान बनाएका छन् ।
दक्षिण अमेरिका (६ राष्ट्र):
२०२२ को विजेता अर्जेन्टिनासहित ब्राजिल, उरुग्वे, कोलम्बिया, इक्वेडर र पाराग्वेले दक्षिण अमेरिकाको प्रतिनिधित्व गर्नेछन् ।
उत्तर, मध्य अमेरिका तथा क्यारिबियन (६ राष्ट्र) :
तीन आयोजक अमेरिका, मेक्सिको र क्यानाडा बाहेक पानामा, हाईटी र कुराकाओले यस क्षेत्रबाट स्थान बनाएका हुन् । कुराकाओका लागि यो पहिलो ऐतिहासिक अवसर हो ।
ओसिनिया (१ राष्ट्र) :
ओसिनिया क्षेत्रबाट न्युजिल्यान्डले स्थान सुरक्षित गरेको छ ।











प्रतिक्रिया