बनेपामा निःशुल्क ब्युटिसियन तालिम सुरु, महिलालाई आत्मनिर्भर बन्न आग्रह


काभ्रे।

बनेपा नगरपालिकामा एक महिने निःशुल्क ब्युटिसियन आधारभूत तालिम कार्यक्रम बुधबारदेखि सुरु गरिएको छ । स्कूल आफ ब्यूटिसियन आईटिसि क्षमता विकास तालिम सेन्टर, हाम्रो सरोकारद्वारा आयोजित उक्त कार्यक्रमको उद्घघाटन बनेपा नगरपालिकाकी उप–प्रमुख विमला सापकोटाले गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्दै उप–प्रमुख सापकोटाले महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बन्नुपर्नेमा जोड दिँदै तालिमलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । “तालिम लिएर त्यसको सदुपयोग गर्नुपर्छ, त्यसका लागि इच्छा शक्ति आफैंमा हुनुपर्छ,” उहाँले भन्नुभयो, “केवल अपेक्षा होइन, स्पष्ट उद्देश्य लिएर तालिममा सहभागी हुनुपर्छ ।” उहाँले नगरपालिकाले सीपमूलक कार्यक्रमलाई सहयोग गर्न तयार रहेको र योजना बनाएर आउनेलाई प्राथमिकता दिने उल्लेख गर्नुभयो ।

कार्यक्रम हाम्रो सरोकार र लायन्स इन्टरनेशनलको समन्वय तथा सहयोगमा सञ्चालन गरिएको हो । कार्यक्रममा लायन्स इन्टरनेशनलका डिस्ट्रिक्ट ३२५ जीका गभर्नर विधान जोशीले तालिम प्राप्त महिलाहरूलाई उद्यम सञ्चालन गर्न सहकारीमार्फत ५० हजारदेखि १ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन सकिने जानकारी दिनुभयो । उहाँले यस्ता सीपमूलक कार्यक्रमले महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

ब्यूटीसियन रुस्का बैद्यले संस्थाले २३ वर्षदेखि ब्युटिसियन तालिम सञ्चालन गर्दै आएको जानकारी दिँदै सीपलाई रोजगारीसँग जोड्ने लक्ष्य रहेको बताउनुभयो । “सीप सिकेर स्वरोजगार बन्ने वातावरण सिर्जना गर्नु हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो । उहाँका अनुसार तालिममा नेल, आइल्यासेज लगायत विभिन्न ९ वटा विधामा प्रयोगात्मक अभ्यास गराइनेछ भने उत्कृष्ट दुई जनालाई पार्लर सञ्चालनमा समेत सहयोग गरिनेछ ।

नेपालमा यस्ता ब्युटिसियन तथा सीपमूलक तालिमले महिलाको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको विभिन्न अध्ययनहरूले देखाएका छन् । यस्ता तालिमले महिलामा आत्मविश्वास बढाउने र स्वरोजगारको अवसर सिर्जना गर्ने गरेको पाइन्छ ।

तालिम उद्घाटन कार्यक्रममा सहभागीहरूको उत्साहजनक उपस्थिति देखिएको थियो । विशेषगरी काखे बालक बोकेर आएका महिलाहरूको उपस्थिति भावुक बनाउने खालको थियो । केही महिलाहरूले बच्चालाई घरमा छोडेर आएका थिए भने कतिले सँगै लिएर सहभागी भएका थिए । यसले महिलामा सीप सिकेर आत्मनिर्भर बन्ने दृढ इच्छाशक्ति रहेको स्पष्ट झल्काउँथ्यो ।

स्थानीय महिलाहरूको उल्लेख्य सहभागितासहित सुरु भएको उक्त तालिमले बनेपामा महिला उद्यमशीलता विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।