प्रधानमन्त्रीको निर्देशनपछि एडीबीको अनुदानका विद्युतीय गाडी लुम्बिनीमा सञ्चालन 

3.1k
Shares

बुटवल। 

पाँच वर्षदेखि लुम्बिनीमा थन्किएका एसियाली विकास बैंक (एडीबीको )अनुदानमा ल्याइएका विद्युतीय गाडी प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सञ्चालनमा आएका छन् । ती गाडी लुम्बिनीमा गाडी चल्न नसकेर अलपत्र परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं लैजाने निर्णय गरेको थियो ।
त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले लुम्बिनीमा तुरुन्त बस सञ्चालन गर्न निर्देशन दिएको थियो । 

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि थन्किएर थोत्रिने अवस्थामा पुगेका बस बुधबारदेखि सञ्चालनमा आएको कोषले जनाएको छ ।
लुम्बिनीलाई प्रदुषणरहित बनाउँदै पर्यटकको सुविधाका लागि भनेर विद्युतीय सवारी (बिजुली गाडी) ल्याइएका थिए । 

एडीबीको अनुदान सहयोगमा आएका विद्युतीय बस र ‘भ्यान’ पाँच वर्षसम्म प्रयोगविहीन भएर खुला आकाशमुनि थन्किएका थिए ।
पटक–पटक गाडी चलाउने योजना अघि सारिए । तर, सवारी चल्न सकेनन् । कहिले सेतो नम्बर प्लेटलाई हरियोमा बदल्न समस्या भयो भनियो त, कहिले हरियोले भाडाको यात्रु बोक्दा आइपर्ने समस्या के गर्ने निम्तिए, त्यसको कानूनी निरुपण कसरी गर्ने अल्झन उठाइयो ।

लुम्बिनी आएका गाडी चल्न नसकेर काठमाडौं लैजाने तयारीको जानकारी नयाँ सरकार बनेलगतै प्रधानमन्त्री कार्यालयमा पुग्यो ।  त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा उनको सचिवालयले गाडी काठमाडौं ल्याउने होइन, लुम्बिनीमै चलाउनू’ भनेर कोषलाई निर्देशन दिएको थियो ।  

प्रधानमन्त्रीको तर्फबाट आवश्यक कानूनी अल्झनलाई समाधान गर्दै जाने बताएपछि विकास कोषले बस सञ्चालनमा ल्याएको हो ।  यसअघि गाडी सञ्चालनमा ल्याउन नसक्नुमा लुम्बिनी विकास कोषका पदाधिकारीको चरम लापरबाही र उदासीनतालाई प्रमुख कारण मानिएको छ ।  विकास कोषका वरिष्ठ प्रशासकीय अधिकृत चुडामणि भट्टराईले प्रधानमन्त्री कार्यालयको निर्देशनपछि गाडी चलाउने गरी अघि बढेको बताउनु भयो । 

हाललाई २ वटा बस पहिलो लुम्बिनी एयरपोर्ट हुँदै बेलहिया र अर्को लुम्बिनी तिलौराकोट हुँदै कुदानसम्म चल्नेछन् । अन्य तीनवटा गाडी मर्मत सम्भार गरी रामग्राम, देवदह र बुटवलसम्म पनि चल्नेछन् । त्यसका लागि न्यूनतम् भाडा निर्धारण गर्ने तयारी छ । 

तत्काल विकास कोषले सञ्चालन गरे पनि दीर्घकालीन सञ्चालनको लागि व्यवस्थापनको खाँचो रहेको भट्टराईको भनाइ छ । एडीबीको अनुदान सहयोगमा ‘क्लीन इनर्जी प्रोजेक्ट’ अन्तर्गत १३ करोड रूपैयाँ लागतमा कोषलाई विद्युतीय सवारी प्राप्त भएका थिए । 

यिनै सवारी साधनका लागि भनेर लुम्बिनीमा १३ करोड ९० लाख रूपैयाँ लगानीमा चार्जिङ स्टेशन समेत बनिसकेका सञ्चालनमा छन् । १७ स्थानमा चार्ज गर्ने व्यवस्था छ । पाँच वर्षसम्म ठूला गाडी नचले पनि भ्यान÷कार विकास कोषका कर्मचारीले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिरहेका थिए । त्यसबेला किनिएका १३० बिजुली रिक्सा कोष आसपासमा सञ्चालनमा छन् । बस र भ्यान अत्याधुनिक हुन् । 

१९ सिट क्षमताका बसमा उभिँदा ३५ जनासम्म अटाउँछन् । बस अपांगमैत्री छन् । स्वचालित खुल्ने ढोका भएको बसमा आनन्ददायी सिट छन् ।