लमजुङ।
लमजुङको पर्यटकीय गाउँ पसगाउँमा ग्रामिण पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित १६ औँ पर्यटन महोत्सव आयोजना हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित क्व्होलासोँथार गाउँपालिका–६ स्थित पसगाउँमा यही चैत २५ र २६ गते महोत्सव हुन लागेको हो ।
पसगाउँ सामूहिक होमस्टे समिति अध्यक्ष तथा क्व्होलासोँथार गाउँपालिका अध्यक्ष सूर्य प्रसाद गुरुङका अनुसार विगत वर्षमा झैँ यस वर्ष पनि ग्रामीण पर्यटन प्रवर्धन, स्थानीय संस्कार, संस्कृतिको संरक्षण तथा स्थानीय उत्पादनको बजारीकरणलाई ध्यानमा राखेर महोत्सव आयोजना गर्न लागिएको हो ।
गुरुङ समुदायको बाहुल्यता रहेको पसगाउँमा महोत्सवले स्थानीय उत्पादनको प्रवर्धन, मौलिक संस्कृतिको जगेर्ना, प्राकृतिक स्रोत–साधनको उचित प्रयोग तथा व्यवस्थापन, साथै हस्तकलाको संरक्षण र संवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
समुद्री सतहबाट करिब एक हनार ६ सय ५० मिटर उचाइमा अवस्थित पसगाउँमा पहिलोपटक २०६० सालमा महोत्सव आयोजना गरिएको थियो । दशक लामो द्वन्द्वका कारण केही समय पर्यटन गतिविधि प्रभावित भए पनि पछिल्ला वर्षहरुमा यहाँ पर्यटकको चहलपहल पुनः बढ्दै गएको छ ।
महोत्सवमा स्थानीय कलासंस्कृतिमा आधारित सांगीतिक प्रस्तुति, विभिन्न कलाकारहरुको प्रस्तुति, कृषि प्रदर्शनी, शुभकामना आदानप्रदानलगायत कार्यक्रम समावेश रहनेछन् । साथै क्व्होलासोँथार गाउँपालिका अन्तर्गत वडास्तरीय नृत्य प्रतियोगिता पनि आयोजना गरिने अध्यक्ष गुरुङको भनाई छ । उहाँका अनुसार प्रथमलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । दितियलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ प्रदान गरिने छ ।
पर्यटन प्रवद्र्धनका लागि गुरुङ बस्तीहरुमा महोत्सव आयोजना गर्ने परम्पराअनुसार पसगाउँले पनि विगत दुई दशकदेखि निरन्तर महोत्सव गर्दै आएको छ । कृष्णचरित्र, झ्याउरे नाच, सारंगी नृत्य र घाँटु जस्ता लोपोन्मुख सांस्कृतिक प्रस्तुति यहाँको विशेष आकर्षण हुन् ।
साथै, सिल्दु पूजा, छेदुपु पूजा, क्होम्रे पूजा, भवानी पूजालगायत परम्परागत धार्मिक संस्कारहरू, प्राकृतिक शिवलिङ्ग, ‘भोँभोँ’ आवाज निकाल्ने ढुंगा तथा सूर्योदय–सूर्यास्त अवलोकनका लागि प्रसिद्ध क्व्होम्रेडाँडा पसगाउँलाई अझ विशेष बनाएको छ ।











प्रतिक्रिया