उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न


काठमाडौं ।

नेपाली सेनाको आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरिएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम (Advanced Course on National Security) को चौथो संस्करण सम्पन्न भएको छ।

रक्षा मन्त्रालयको समन्वयमा सञ्चालित उक्त तालिम चैत ७ गतेदेखि सुरु भई चैत १८ गते सम्पन्न भएको हो। तालिमको समापन समारोहमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले सहभागीहरूलाई बधाई तथा धन्यवाद व्यक्त गर्दै राष्ट्रिय सुरक्षाका विषयमा साझा समझ विकास गर्नु अत्यन्त आवश्यक रहेको बताए।

उक्त तालिममा विभिन्न मन्त्रालय, विश्वविद्यालय, सञ्चार क्षेत्र तथा सुरक्षा निकायबाट गरी कुल ३० जना सहभागी थिए। तालिममार्फत सहभागीहरूबीच अनुभव आदानप्रदान, समन्वय र सहकार्यलाई थप मजबुत बनाउने लक्ष्य राखिएको थियो।

समापन कार्यक्रममा पूर्व प्रधान सेनापति, रक्षा सचिव, विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख, सशस्त्र प्रहरी महानिरीक्षक, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

राष्ट्रिय सुरक्षाका बहुआयामिक पक्षहरूमा समान बुझाइ विकास गर्दै राज्यका विभिन्न संयन्त्रबीच प्रभावकारी कार्यसम्पादनमा योगदान पुर्‍याउने उद्देश्यले वि.सं.२०७२ सालदेखि सञ्चालन हुँदै आएको यस तालिममार्फत हालसम्म २५२ जना प्रशिक्षित भइसकेका छन्।