व्यवसायी एकताका अभियन्ता पुष्परत्न सम्मानित


ललितपुर। 

इटीदेखि जावलाखेलसम्मका सयौं व्यापारीलाई एकताबद्ध गर्दै कुमारी जावलाखेल व्यापार संघ स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्परत्न शाक्यलाई सम्मान गरिएको छ ।

संघ स्थापना भएको १६ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित सातौं वार्षिक साधारणसभामा, संघका संस्थापक अध्यक्ष समेत रहेका शाक्यलाई विशेष सम्मान प्रदान गरिएको हो। कार्यक्रममा संघका अध्यक्ष वीरेन्द्र शाक्यले दोसल्ला ओढाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संस्थापक अध्यक्ष शाक्यलाई सम्मानपत्र प्रदान गर्नुभयो।

सम्मानपत्रमा व्यवसायीहरूको हकहितका लागि उनीहरूलाई संगठित गर्दै संस्थागत गतिविधिमा सक्रिय बनाउने कार्यमा शाक्यको योगदानलाई उच्च मूल्यांकन गरिएको छ । साथै, उहाँको व्यक्तित्वलाई बहुआयामिक, बहुप्रतिभाशाली र समाजसेवीका रूपमा चित्रण गरिएको छ ।

संघका संस्थापक अध्यक्ष शाक्यले एक दशकभन्दा बढी समयसम्म नेतृत्व गर्दै संस्थालाई मजबुत आधार प्रदान गर्नुभएको थियो।उहाँकै नेतृत्व दक्षताका कारण अहिले नयाँ पुस्ताका व्यावसायिक नेतृत्वहरू समेत तयार हुँदै गएको उल्लेख गरिएको छ । हाल शाक्य ललितपुर चेम्बर अफ कमर्शका अध्यक्षका रूपमा पनि सक्रिय हुनुहुन्छ।

संघले स्थापनाकालदेखि नै कुमारीपाटी–जावलाखेल क्षेत्रलाई शैक्षिक तथा व्यापारिक केन्द्रका रूपमा स्थापित गर्न वार्षिक रूपमा मेला तथा महोत्सव आयोजना गर्दै आएको छ । यस्ता कार्यक्रमहरूले स्थानीय व्यवसायीहरूको उत्साह र आर्थिक गतिविधि बढाउन उल्लेखनीय टेवा पुगेको संघका अध्यक्षले बताउनुभयो।