‘नेक्स्ट जेन बुट क्याम्प’ आयोजना गरिने


काठमाडौं ।

‘अञ्जन विष्ट ट्रेनिङ सेन्टर’ ले युवा खेलाडीहरूको जग बलियो बनाउने उद्देश्यका साथ ‘नेक्स्ट जेन बुट क्याम्प’ आयोजना गर्ने भएको छ । यो नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख फरवार्ड अञ्जन विष्टको सक्रियतामा सञ्चालित हो ।

८ देखि १६ वर्ष उमेर समूहका किशोर–किशोरीहरूलाई लक्षित गरी आयोजना गरिने यो विशेष फुटबल प्रशिक्षण कार्यक्रम यही चैत २१ गतेदेखि ३० गतेसम्म ललितपुरस्थित बुद्धिविकास फुटबल मैदानमा सञ्चालन हुनेछ ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार १० दिनसम्म चल्ने यस क्याम्पमा सहभागीहरूले हरेक दिन बिहान ८ देखि १० बजेसम्म फुटबलका प्राविधिक तथा रणनीतिक कौशलहरू सिक्ने अवसर पाउनेछन् ।

प्रशिक्षणलाई व्यावसायिक र स्तरीय बनाउन एएफसी लाइसेन्स प्राप्त अनुभवी प्रशिक्षकहरू सनोज श्रेष्ठ, प्रविन श्रेष्ठ, निशान भक्त श्रेष्ठ र रुपेश केसीका साथै विदेशी प्रशिक्षक एरिक बोल्वे म्पुटुको विज्ञतालाई उपयोग गरिनेछ । यस क्याम्पमा फुटबलको आधारभूत सीप सिकाउनुका साथै खेलाडीको व्यक्तिगत क्षमता अभिवृद्धि, खेल अनुशासन र शारीरिक तन्दुरुस्तीमा विशेष जोड दिइनेछ ।

प्रशिक्षण अवधिभर सहभागीहरूलाई राष्ट्रिय खेलाडीहरूसँग साक्षात्कार गराउने र अन्त्यमा अभ्यास खेलसहित फाइनल प्रतिस्पर्धा समेत गराइने योजना रहेको छ, जसले गर्दा भर्खरै फुटबलमा लाग्दै गरेका प्रतिभाहरूले वास्तविक मैदानको अनुभव र प्रेरणा बटुल्न सक्नेछन् ।

आफ्नो खेल करियरको उचाईमै रहेको बेला नयाँ पुस्ताका लागि यो कदम चालेका २७ वर्षीय अञ्जन विष्टले फुटबलप्रतिको आफ्नो समर्पणलाई मैदानबाहिर पनि फैलाउन चाहेको बताएका छन् ।

भविष्यमा यस सेन्टरलाई पूर्णकालीन एकेडेमीकै रूपमा विकास गर्ने लक्ष्य राखेका उनले आफू अझै ६–७ वर्ष सक्रिय खेलमा रहने भए तापनि नयाँ खेलाडी उत्पादनको जग अहिलेदेखि नै बसाल्नुपर्ने आवश्यकता औँल्याए ।

क्याम्पमा सहभागी हुन प्रति खेलाडी ८ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ, जसमा जर्सीसहित आवश्यक खेल सामग्री आयोजकले नै उपलब्ध गराउनेछ । आर्थिक अवस्था कमजोर भएका जेहेन्दार खेलाडीहरूका लागि भने विशेष छुटको व्यवस्था समेत गरिएको छ ।

आक्र्स ग्रुप मुख्य प्रायोजक रहेको यस कार्यक्रमलाई ३६१, नाडा, एक्सप्लोर ट्राभल र ए एन्ड एस पोशाक जस्ता संस्थाहरूले सहकार्य गरी नेपाली फुटबलको भविष्य निर्माणमा टेवा पु¥याएका छन् ।